अछामको पञ्चदेवल विनायक नगरपालिका ४ कालिकास्थानमा मृत अवस्थामा भेटिएका १७ वर्षका किशोरको हत्या आरोपमा किटानी जाहेरी दर्ता भएको छ । कक्षा १० मा अध्ययनरत बिनोद शाही जेठ २१ मा मृत अवस्थामा फेला परेपछि उनको हत्याको आरोपमा पीडितले पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् ।
आरोपीतहरुमाथि किटानी जाहेरी दर्ता गर्ने र त्यसमाथि निष्पक्ष छानविन गर्ने समझदारी भएसँगै मृतकको शव परिवारले बुझेका छन् । सुदूरपश्चिम प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोलाबहादुर रावलका अनुसार पोष्टमार्टमको रिपोर्ट आउन भने आउन बाँकी छ ।
किशोरको मृत्युबारे अनुसन्धान गर्न केन्द्रिय अनुसन्धान ब्यूरोका डिएसपी मनोहर भट्ट नेतृत्वको टोली घटनास्थलमा रहेको छ । जेठ २१ गते बिनोद पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जंगलमा मृत अफस्थामा फेला परेका थिए । जेठ २१ मा आक्रोशित समूहले ईलाका प्रहरी कार्यालय विनायकमा तोडफोड गरेका थिए । स्थानीयले प्रहरीको गाडी तोडफोड गर्नुका साथै पञ्चदेवल बिनायक नगरपालिकामा तालाबन्दीसमेत गरेका छन् ।
पिडित पक्षले घटनामा भर्खरै निर्वाचित नगरप्रमुख अम्बिका चलाउनेको मुख्य हात रहेको जिकिर गर्दै किटानी जाहेरी दर्ता गराएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।







