नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले विदेशी हस्तक्षेप बढेको तथा महंगी र भ्रष्टाचारले सीमा नाघेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै नेकपाले जेठ २५ देखि असार ५ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जारी गरेको विज्ञप्तिमा जेठ २५ गते किसानहरुले राजमार्ग, काठमाडौं उपत्यकासहित देशव्यापी विरोध प्रदर्शन गर्ने र जेठ २७ गते अमेरिकी साम्राज्यवादी हस्तक्षेप विरुद्ध देशव्यापी विरोध प्रदर्शनका कार्यक्रम रहेको जनाएका छन् ।
त्यस्तै जेठ ३० गते एमसीसीका कार्यालय र जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र घेराउ, असार २ गते राजबन्दी रिहाइको पक्षमा देशव्यापी मसाल जुलुस र असार ५ गते महंगी र भाडा वृद्धि विरुद्ध देशव्यापी विरोध प्रदर्शनका कार्यक्रम राखिएको प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।







