कबड्डी–४ कि नायिका मिरुना मगरले सोमबार आफूमाथि एक युवकले अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिइन् । त्यसपछि नायिकाको पक्ष र विपक्षमा ठूलो बहस भयो ।
‘कबड्डी ४’ को व्यापार राम्रै भइरहेको थियो। प्रदर्शनको एक सता पनि नबित्दै चलचित्रका निर्माताले लगानी उठाइसकेका थिए । तर, सोमबार टिकटकमा एक भिडियो भाइलर भयो। जसमा कबड्डी ४ कि नायिका मिरुना मगरले लामाको भेषमा आएका एक दर्शकको गालामा झापड हानेकी छन् ।
धेरै मानिसहरूको हुलमा झापड हान्दै चोरी औंलो देखाउँदै खबरदारी गरेकी छन् मिरुनाले । सिभिल मलमा सोमबार बिहान साढे ११ बजेको शो हेर्न फिल्मका सबै कलाकारको समूह गएको थियो । सौगात मल्ल, दयाहाङ राई लगायत कलाकार पनि थिए । फिल्म सकिँदा साढे २ बजेको थियो । सबै हुल बाँधेरै कलाकारलाई घेर्दै बाहिर निस्कँदै थिए ।

सौगात मल्ल र दयाहाङ राईले सुरक्षा दिइरहेको जस्तो देखिन्छ भाइरल भिडियोमा । तर, मिरुनाले लामाको भेषमा आएका युवकलाई एक्कासि झापड हानिन् । तामाङ थरका ती युवाले कान समातेर माफीसमेत मागे । तर, मिरुनाले प्रहरीलाई खबर गरिन् ।
मिरुनाका अनुसार ती युवाले उनलाई ‘ब्याड टच’ गरेका थिए । फिल्म हर्ने क्रममा हलभित्र ती युवाले नराम्रोसँग छोएको मिरुनाको भनाइ छ । तर सामाजिक सञ्जालमा भाइरल भिडियोमा भने लामाले मिरुनालाई ब्याड टच गरेको देखिँदैन । ब्याड टच गरेको भिडियो नदेखिनु र झापड हानेको मात्रै देखिनुले समेत यो घटनामा पीडकका पक्षमा धेरैले समर्थन जनाएका थिए ।
लामा पक्राउ परेसँगै बौद्ध धर्मावलम्वीहरूले भने आन्दोलन नै सुरु गरे । फिल्मको पोस्टर नै जलाइयो ।
यो विवाद चर्किरहेको समयमा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामासँग काठमाडौं जिल्ला प्रशासनले ३ हजार धरौटी माग गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द प्रसाद रिजालले उनलाई ३ हजार धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । सो धरौटी तिरेपछि फुर्वा रिहा हुनेछन् ।
प्रहरीले लामाविरुद्ध अभद्र व्यवहार मुद्दामा सिडियो कार्यालयमा उपस्थित गराएकामा मंगलबार रिजालले रिहा गर्न आदेश दिएका हुन् । एक वर्षभन्दा कम समय सजाय हुने मुद्दामा प्रमुख जिल्ला अधिकारीले आदेश गर्न सक्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थालाई टेकेर सीडीओ रिजालले लामालाई रिहा गर्ने आदेश दिएका हुन् ।







