विश्व बैंकले श्रीलंकालाई ७० करोड अमेरिकी डलर दिने

श्रीलंकालाई विश्व बैंकले करिब ७० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ । विश्व बैंकका श्रीलंका प्रबन्धक चियो कान्डाले श्रीलंकाका विदेशमन्त्री जीएल पेइरिससँगको भेटवार्तामा सहयोगको प्रतिबद्धता जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भेटका क्रममा मन्त्री पेइरिसले अन्तर्राष्ट्रिय मुद्राकोषलगायत अन्य संस्था र दातृ राष्ट्रहरूमार्फत दीर्घकालीन सहायता उपलब्ध नहुन्जेल सहयोग गर्न विश्व बैंकलाई आग्रह गरेका छन् ।

मन्त्री पेइरिसले अर्थतन्त्रको दिगो समाधान नआएसम्म विश्व बैंकको अल्पकालीन आर्थिक सहयोगको कदर गरिने बताएको जनाइएको छ ।
विश्व बैंकले श्रीलंकाको अर्थतन्त्र सुधारका लागि एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक र संयुक्त राष्ट्रसंघलगायतसँग काम गरिरहेको प्रबन्धक कान्डाको भनाइ छ ।

दक्षिण एसियाली मुलुक श्रीलंकाले हाल स्वतन्त्रतायताकै खराब आर्थिक संकटको सामना गरिरहेको छ । विदेशी मुद्राको अभाव र मूल्यवृद्धिका कारण इन्धन, औषधिलगायत अत्यावश्यक वस्तुको अभाव चर्केको छ । यसअघि भारतले श्रीलंकालाई १ अर्ब ९० करोड डलर उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *