देउवा सरकारको बजेटप्रति निजी क्षेत्र उत्साहित, कसले के भने ?

सरकारले आज ल्याएको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान बजेटप्रति निजी क्षेत्र उत्साहित देखिएको छ ।

निजी क्षेत्रले उठाएका विषयलाई सम्बोधन हुने गरी ल्याइएको बजेट समग्रमा राम्रो रहेको भन्दै यसको व्यावहारिक कार्यान्वयनमा जोड दिन व्यवसायीले आग्रह गरेका छन् ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेटमा स्वदेशी उत्पादन र उद्योग प्रवद्र्धन, पर्यटन पूर्वाधार विकास आदि विषय समेटिनु सकारात्मक रहेको व्यवसायीको प्रतिक्रिया छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले महासङ्घले उठाएका धेरै विषय बजेटमा समावेश भएको भन्दै समग्रमा बजेटप्रति उत्साहित भएको बताए ।

निर्यातमा सहुलियत, उत्पादनमा ‘फोकस’ छ, कृषिलाई पनि सम्बोधन गरेको छ । उत्पादन र कृषिलाई प्राथमिकता दिएकाले उत्साहित रहेको उनले बताए ।

यस्तै नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले समग्रमा बजेट सकारात्मक रहेको बताए । उनले उत्पादनमूलक उद्योगमा प्रोत्साहन, उद्योगको जग्गा हदबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन, निर्यातमा अनुदान र निर्यातयोग्य उद्योगलाई विद्युत् महसुलमा छुट दिने नीति पनि स्वागतयोग्य रहेको प्रतिक्रिया दिए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले समग्रमा बजेट स्वागतयोग्य रहेको र यसले निजी क्षेत्रलाई उत्साहित तुल्याएको बताउँदै प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

नपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले बजेटमा निजी क्षेत्रले उठाएका धेरै कुरा सम्बोधन भएकाले निजी क्षेत्रलाई उत्साहित बनाएको बताइन् ।

उत्पादनमूलक उद्योगलाई प्रोत्साहन, कृषिलाई प्राथमिकता तथा कपास खेती र रबर खेतीलाई प्रोत्साहन गर्ने गरी समावेश गरिएका कार्यक्रम राम्रो भएको उनको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिँदै स्वदेशी उत्पादन र उद्योग प्रवद्र्धन, पर्यटन पूर्वाधार विकासमा बजेटले राहत दिने बताए ।

उद्योगको जग्गा हदबन्दी जस्ता बजेटले सम्बोधन गर्नु निकै सराहनीय भएको पनि उनले बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *