बजेटप्रति एमालेको टिप्पणीः म्यादी सरकारले ठूला कुरा गर्यो

सरकारले आज ल्याएको आर्थिक वर्ष २०७९–०८० को राजश्व र व्ययको वार्षिक अनुमान बजेटप्रति निजी क्षेत्र उत्साहित देखिएका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले भने आलोचना गरेका छन् ।

एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले चुनावका लागि आवश्यक खर्च, चालु आयोजनालाई निरन्तरता र दैनिक प्रशासनिकतर्फ आवश्यक बजेट व्यवस्था मात्र गरेको बताए ।

उनले चुनावी सरकारले आफ्नो प्राथमिकता नबुझेको र पाँच महिना समयावधि रहेको सरकारले दीर्घकालीन महत्वका योजनाको ल्याएको टिप्पणी गरे ।

‘मुलुक आर्थिक सङ्कटमा परिरहेको अवस्थामा छ’, पूर्वअर्थमन्त्री पौडेलले भने, ‘सरकारले प्राथमिकता भुलेर बजेट ल्याएको छ, मुलुकलाई आर्थिक लयमा ल्याउन जरुरी छ ।’ उनले वार्षिक ३० प्रतिशत रोजगारी सिर्जना, आठ प्रतिशत आर्थिक वृद्धिदरजस्ता कुराहरु हावादारी भएको बताए ।

यस्तै एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नीति र कार्यक्रम बारेमा र बजेटमा सन्तुलन नदेखिएको धारणा व्यक्त गरे । ‘यो कार्यान्वयन हुने सम्भावना छैन’, उनले भने, ‘विद्युतीय प्रयोगलाई बढाउने कुरा राम्रो छ, तर धेरै गर्न नसक्ने कुरा बजेटमा छन् ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *