नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्ववर्ती सरकार र पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने चरण सकिएको बताएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले तिनै तहका सरकार कांग्रेसको जिम्मामा आइपुगेकाले काम गरेरै देखाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘स्थानीय तहमा हामीले झन्डै ( झन्डै २०४९ सालको जस्तो अभूतपूर्व सफलता हासिल गरेका छौं । संघीय सरकारामा हामी छौं । प्रदेशको सरकार चलाएका छौं । अब आलोचना गर्ने चरण सकियो। हाम्रो बारेमा कुरा गर्नुपर्छ। अस्तिसम्म पूर्ववर्ती सरकार र ओलीजीका विषयमा कुरा गर्नुपर्थ्यो । आलोचना गर्नुपर्थ्यो ।’
उनले दलहरु आफ्ना अजेन्डाअनुसार निर्वाचनमा गएर जनताले त्यसको उत्तर दिइसकेकाले पहिलेका कुरा उठाउन जरुरी नभएको बताए । यो निर्वाचनबाट कांग्रेसको लोकप्रियता बढेको बताउँदै उनले सिट मात्रै नभइ मतदाताको संख्या समेत बढेको उल्लेख गरे ।






