नेपालमा पनि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासका खानीहरू भएको कुराले बेलाबेलामा चर्चा पाउने गरेको छ । पेट्रोलियम खानी खोज्ने प्रयास पनि नभएको भने हैन । तर पर्याप्त अन्वेषण हुन नसक्दा नेपालमा उत्खनन गर्न सकिनेगरी पेट्रोलियम पदार्थ भए नभएको टुङ्गो लाग्न नसकेको अधिकारीहरूले बताएका छन् । कोरोनाभाइरस महामारी सुरु भएयता अन्वेषणको काम ठप्प भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सुधीर रजौरेले बताउँछन् ।
सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको थियो । तर महामारीका कारण स्थगित कार्य पुनः सुरु हुन सकेको छैन । “कोभिड–१९ देखिएदेखि अन्वेषण कार्य अवरुद्ध छ । नेपाल–चीन प्रत्यक्ष उडान नहुनुले पनि प्रभावित भयो । अब आगामी महिना प्राविधिक समूह चीनबाट आउने कुरा छ,“ उनले भने ।
महानिर्देशक रजौरेका अनुसार हालसम्म विभागले भौगर्भिक तथा भूरासायनिक अन्वेषणसहित अन्य अध्ययन गरेको छ र त्यसैको आधारमा क्षेत्रीय स्तरको तथ्याङ्क सङ्कलन भएको हो ।
त्यस्तै चीन सरकारको सहयोगमा हुन थालेको अन्वेषण अन्तर्गत साईज्मिक (भूकम्पीय) सर्वेक्षण भएको छ । त्यो सर्वेक्षण गर्दा जमिनको सतहबाट विशेष किसिमको तरङ्ग उत्पन्न गरी जमिनमुनिको तस्बिर लिइन्छ र त्यसकै आधारमा सम्भावित खानी भएको ठाउँ पहिचान गरिन्छ ।
“उक्त सर्भेले दैलेख क्षेत्रमा पहिचान भएका खण्डहरूमा करिब चार किलोमिटरसम्म उत्खनन गर्नुपर्ने देखाएको छ,“ उनले भने । “नेपाल र चीनबीच उत्पादनसम्बन्धी सम्झौता हुने चरणमा पुगेका थियौँ । तर कोभिडकै कारण त्यो पनि स्थगित छ ।”
दैलेखबाहेक सुर्खेत र देशका विभिन्न स्थानमा पनि पेट्रोलियम खानी खोज्ने प्रयास भएको छ ।
पहिला कस्तो प्रयास गरिएको थियो ?
यसरी विस्तृत अध्ययन भएको यो पहिलो पटक भने होइन । वि.सं. २०४५ सालमा सरकारले गरेको अन्तर्राष्ट्रिय बोलपत्रमार्फत् एउटा निजी विदेशी कम्पनीले मोरङको बाहुनीमा अन्वेषण गरेको थियो । सेल्टाइट्रन नामक कम्पनीले साढे तीन किलोमिटरसम्म जमिन छेडेर अध्ययन गरेको रजौरेले बताए ।
“त्यहाँ औद्योगिक रूपमा उत्खनन गर्न सकिने मात्रामा पेट्रोलियम पदार्थ भेटिएन । उनीहरू सम्झौता खारेज गरेर गए, तर हामीलाई लाग्छ उनीहरूले अझै गहिराइसम्म परीक्षण गर्नुपर्थ्यो,“ उनको भनाइ छ ।
त्यसपछि अन्तर्राष्ट्रिय बोलकबोल प्रणालीमार्फत् अन्य कम्पनीहरूले अध्ययन गर्ने सम्झौता भएको तर नेपालमा द्वन्द्व सुरु भएका कारण उनीहरूले काम थाल्ने वातावरण नबनेको उनले बताए । “काम सुरु हुनुअघि सम्झौता खारेज भयो,“ उनले भने ।
नेपालमा पेट्रोलियम पदार्थ उत्खननको सम्भावना कति ?
नेपालमा पेट्रोलियम खानीको प्रचुर सम्भावना रहे पनि यकिन गर्न नसक्नु मुख्य समस्या भएको विज्ञहरूले बताएका छन् । पेट्रोलियम पदार्थ हुनका लागि आवश्यक वातावरण, भौगर्भिक स्थिति र स्रोत चट्टानहरू नेपालमा रहेको खानीविज्ञ श्यामबहादुर केसीको दाबी छ। उनी विभागका भूतपूर्व परियोजना प्रमुख हुन् ।
उनका अनुसार नेपालमा तेल बन्ने स्रोत ढुङ्गा, तेल जम्मा हुने ढुङ्गा र तेल बनेपछि उडेर जान नदिने संरचनाहरू रहेको विभिन्न अध्ययनमा देखिएको छ । “पूर्वमा असम र पश्चिममा पाकिस्तानी बेल्टमा अहिले पनि पेट्रोल उत्पादन हुन्छन् । त्यसैले उस्तै भौगोलिक अवस्था भएको नेपालका भेगहरूमा पनि सम्भावना छ,” केसीले भने ।
विभागका महानिर्देशक दैलेखका खोलामा तेल पानीमाथि तैरिनुलाई प्रमाण भएको मान्छन् । उनका अनुसार जहाँ तेल देखियो त्यहीँ पेट्रोलको स्रोत नभए पनि नेपालको दक्षिणी बेल्टमा पेट्रोलको सम्भाव्यता छ । “नेपालको दक्षिणी क्षेत्र, विशेषगरी तराई र चुरे र महाभारतमुनिका केही भाग सम्भावित क्षेत्र हुन् । ती ठाउँहरूमा भारतको असम र पाकिस्तानको पोथ्वरमा जस्तै भूगर्भ, भौगर्भिक इतिहास र बनोट,“ उनले भने ।
सम्भावित क्षेत्रमा अन्वेषण र उत्खनन तीव्र पार्न विद्यमान कानुनी प्रावधानमा सुधार गरिनुपर्ने जानकारहरू बताउँछन् ।
स्रोत पहिचान र प्रयोग साथै अर्थतन्त्रमा सकारात्मक प्रभावका निम्ति पेट्रोलियम पदार्थ अन्वेषण र उत्खननले सकारात्मक भूमिका निर्वाह गर्ने विज्ञ केसीको भनाइ छ। उनले पेट्रोलियम पदार्थलाई औद्योगिक हिसाबमा अगाडि बढाउन सके विदेशी मुद्रा सञ्चित हुने उनको तर्क छ । “हाम्रोमा अहिले सर्वाधिक खर्च इन्धन खपतमै त छ । त्यसैले यसलाई केही कम गर्न सकिन्छ,“ उनले भने ।
यद्यपि नेपाली जनशक्ति अभाव र बजेट उपलब्ध नहुँदा पेट्रोलियम पदार्थ भेटिए पनि यसको प्रशोधन प्रक्रिया खर्चिलो हुने उनको भनाइ छ । “उपकरण, सामग्रीहरू र जनशक्ति देशमा छैनन् । कच्चा तेल भेटिए त्यसलाई रिफाइन गर्न अन्यत्र लगिनुपर्छ,” उनले भने ।







