२४सै घण्टा देउसी–भैलो खेल्न दिन गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले तिहारका अवसरमा परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

मन्त्रालयले सोमबार सचिवस्तरीय निर्णय गर्दै नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा सामाजिक सद्भाव कायम हुने गरी देउसी–भैलो कार्यक्रम सञ्चालनमा सहजीकरण गर्न प्रशासनलाई पत्राचार गरेको हो।

मन्त्रालयले देउसी–भैलो कार्यक्रम स्वेच्छिक र मर्यादित हुनुपर्नेमा जोड दिएको छ। कसैलाई चन्दा वा दक्षिणा दिन बाध्य पार्न नपाइने स्पष्ट पार्दै जातजाति, धर्म, भाषा, लिङ्ग तथा समुदायबीच घृणा र द्वेष फैलाउने अश्लील नृत्य, गीत, सङ्गीत तथा नारा प्रयोग नगर्न निर्देशन दिएको छ।

त्यसैगरी, तिहारका नाममा जुवातास खेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक पदार्थ वा लागूऔषध सेवन गरेर सवारीसाधन चलाउने गतिविधि नियन्त्रण गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले अत्यधिक ठूलो आवाजमा साउण्ड सिस्टम तथा ध्वनि उपकरण प्रयोग नगर्न र अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन भनेको छ। सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण, वातावरणीय स्वच्छता र फोहोरमैला व्यवस्थापनमा समेत ध्यान दिन निर्देशन दिइएको छ।

देउसी–भैलो खेल्ने वा चाडपर्व मनाउने क्रममा शङ्कास्पद गतिविधि देखिएमा, दुर्घटना भएमा वा कुनै समस्या उत्पन्न भएमा तत्काल प्रहरीको १०० नम्बर वा आपतकालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) को १२३४ नम्बरमा सम्पर्क गर्न नागरिकलाई जानकारी गराउन पनि जिल्ला प्रशासन कार्यालयहरूलाई भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *