तीन महिनामै साढे ११ करोडको तास आयात, सरकारले उठायो ७ करोडभन्दा बढी राजस्व

काठमाडौँ । नेपालमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै ११ करोड ६८ लाख १५ हजार रुपैयाँको तास आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि असोजसम्म दसैँ–तिहारलाई लक्षित गरी ३४ लाख २२ हजार ६६१ बट्टा तास नेपाल भित्रिएको हो ।

तथ्याङ्कअनुसार उक्त अवधिमा आयात भएको तासबाट सरकारले ७ करोड ७ लाख ७४ हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ । यो तासको आयात मूल्यको करिब ६० प्रतिशत हो ।

रोचक पक्ष के छ भने नेपालमा जुवातास खेल्नुलाई कानुनले गैरकानुनी माने पनि तासलाई मनोरञ्जन, जादु तथा अन्य खेल प्रयोजनका लागि आयात गर्न भने अनुमति दिइएको छ । यही कानुनी व्यवस्थाअन्तर्गत ठूलो परिमाणमा तास नेपाल भित्रिने गरेको छ ।

एकातिर प्रहरीले गाउँदेखि सहरसम्म जुवातास खेल्नेहरूमाथि कारबाही गर्दै आएको छ भने अर्कोतिर भन्सार नाकाबाट लाखौँ बट्टा तास आयात भइरहेका छन् । यसले तासको आयात, प्रयोग र नियमनबीचको विरोधाभासलाई उजागर गरेको छ ।

तास आयातबाट राज्यले करोडौँ रुपैयाँ राजस्व संकलन गरिरहेको भए पनि यसको प्रयोग र नियमन प्रभावकारी छ कि छैन भन्ने प्रश्न उठेको छ । राजस्व संकलन र गैरकानुनी जुवातास नियन्त्रणबीच सन्तुलन कायम गर्नुपर्ने चुनौतीसमेत यस तथ्याङ्कले देखाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *