नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको मूल्य बढाएको विरोधमा जनकपुरधाममा युवाहरुले प्रदर्शन गरेका छन् । बुधबार जनकपुरधाम स्थित जानकी मन्दिरको छेउमा सडकमा मोटरसाइकल र ग्यासको सिलिण्डर राखेर विरोध प्रदर्शन गरेका हुन् ।
स्थानीय युवा शुशिल कर्णको नेतृत्वमा युवाहरुले पाँच दलीय गठबन्धनको सरकारले जनतालाई राहत दिनुको साटो आहत दिएको भन्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरु पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध सडकमा मोटरसाईकल, ग्यास सिलिण्डरलाई राखेर प्रदर्शन गरे ।
स्थानीय युवा कर्णले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रुपमा जनतालाई असर गरेकाले आफूहरु आन्दोलनमा उत्रेको बताए । उनले सरकारले मूल्यवृद्धिको निर्णय फिर्ता नलिए आगाडि पनि आन्दोलन गर्ने चेनावनी दिए ।







