बीमा प्राधिकरणका अध्यक्ष थापाले दिए तिहार, नेपाल संवत् र छठको शुभकामना

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष राजन विक्रम थापाले तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।

अध्यक्ष थापाले शुभकामना सन्देश जारी गर्दै बीमा, बैंक तथा वित्तीय क्षेत्रका सरोकारवाला, बीमित, बीमक, बीमा अभिकर्ता, सर्भेयर, मध्यस्थकर्ता तथा कर्मचारीलगायत सबैको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन्।

उनले तिहारले घरआँगनसँगै सबैको जीवनमा नयाँ आशा र सकारात्मक ऊर्जा सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन्। दीपावलीले आपसी प्रेम, सद्भाव, भाइचारा र पारिवारिक एकतालाई थप बलियो बनाउने उनको अपेक्षा छ।

अध्यक्ष थापाले गत जेठमा खुला आवेदन आह्वान गरी अर्थ मन्त्रालयद्वारा गठित छनोट समितिको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषद्बाट बीमा ऐन, २०७९ बमोजिम आफू अध्यक्षमा नियुक्त भएको उल्लेख गरेका छन्।

केन्द्रीय बैंकमा विभिन्न तह र जिम्मेवारीमा रहेर करिब ३० वर्ष सेवा गरेको अनुभवसहित सरकारले आफूलाई नयाँ जिम्मेवारी दिएको भन्दै उनले छनोट समिति, अर्थ मन्त्रालय, नेपाल सरकार तथा मन्त्रिपरिषद्प्रति आभार व्यक्त गरेका छन्।

साथै, उनले बीमा क्षेत्रमा रहेका समस्या, अपेक्षा र सुधारका विषयमा सरोकारवालालाई आफ्ना सुझाव तथा धारणा उपलब्ध गराउन आग्रह गरेका छन्। सुझावहरू प्राधिकरणको आधिकारिक इमेल वा केन्द्रीय कार्यालयमा लिखित रूपमा पठाउन सकिने उनले बताएका छन्।

बीमा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सरोकारवालाको सुझाव र सहकार्य महत्वपूर्ण हुने अध्यक्ष थापाको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *