बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा २० करोडसम्मको क्षति, निर्माण एक महिनादेखि ठप्प

काठमाडौँ । कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीमा निर्माणाधीन ६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएपछि निर्माणकार्य एक महिनादेखि ठप्प भएको छ। गत असोज ११ गते आएको भीषण बाढीले आयोजनाका बाँध, निर्माणस्थल, आवास भवन र उपकरणमा क्षति पुर्‍याएपछि काम प्रभावित भएको हो।

आयोजनामा बाढीका कारण १८ देखि २० करोड रुपैयाँसम्मको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। बाढीले सुकेबगरस्थित बाँध निर्माणका लागि बनाइएको डाइभर्सन संरचना भत्काउनुका साथै निर्माणस्थलमा ढुंगा, माटो र गेग्रान थुपारेको छ। नागढुंगा र रातोपानी क्षेत्रमा रहेका आवास भवन तथा श्रमिकका क्याम्पसमेत बगाएको छ।

बाढीले बाँध र सुरुङ निर्माणस्थलसँगै मेसिनरी तथा निर्माण उपकरणमा क्षति पुर्‍याएको छ। निर्माण सामग्री, डिजेल भण्डारण ट्याङ्की र वर्कसपमा समेत क्षति पुगेपछि आयोजनाको काम अघि बढाउन कठिनाइ भएको हो।

क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरी तिहारलगत्तै निर्माणकार्य पुनः सुरु गर्ने आयोजनाको तयारी छ। २०८१ सालदेखि निर्माण थालिएको आयोजनालाई २०८५ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आयोजनाको कुल लागत १२ अर्ब ९३ करोड रुपैयाँ अनुमान गरिएको छ। लगानी संरचनाअनुसार ६ वटा वाणिज्य बैंकले कुल लागतको ७५ प्रतिशत रकम ऋणका रूपमा उपलब्ध गराउनेछन्। बाँकी २५ प्रतिशत रकम प्रवर्द्धक कम्पनी तथा सेयर लगानीकर्ताबाट जुटाइनेछ।

हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाबाट उत्पादित विद्युत् दानामा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना छ। आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) समेत गरिसकेको छ।

पीपीएअनुसार आयोजनाले उत्पादन गर्ने विद्युत् हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा बिक्री गर्नेछ। बाढीले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणपछि निर्धारित समयमै आयोजना सम्पन्न गर्ने लक्ष्य प्रवर्द्धकले राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *