बरुण हाइड्रोपावरको नाफा १९ प्रतिशतले बढ्यो

काठमाडौं । विद्युत् बिक्री आम्दानी बढ्नु र वित्तीय खर्च घट्नुको प्रभावले बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १९.२४ प्रतिशतले बढेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २ करोड २६ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ८९ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ३ करोड ९४ लाख ७३ हजार रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षमा बढेर ४ करोड १४ लाख २६ हजार रुपैयाँ पुगेको छ।

कम्पनीको कुल नाफा ३ करोड ५० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३ करोड २७ लाख रुपैयाँ कायम भएको छ। त्यस्तै, वित्तीय खर्चमा पनि उल्लेख्य कमी आएको छ। गत वर्षको पहिलो त्रैमासमा ६४ लाख ५७ हजार रुपैयाँ रहेको वित्तीय खर्च घटेर चालु आर्थिक वर्षमा ४५ लाख ४० हजार रुपैयाँमा सीमित भएको छ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड २५ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, जगेडा तथा कोषमा ११ करोड ३६ लाख १८ हजार रुपैयाँ सञ्चित छ।

वित्तीय विवरणअनुसार कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ४० पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३६ रुपैयाँ ९० पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *