काठमाडौं । बाढीका कारण घरबारसँगै नागरिकता र अन्य महत्त्वपूर्ण कागजात गुमाएका रसुवाको उत्तरगया गाउँपालिका–१ का २०२ जना बासिन्दाले नागरिकताको प्रतिलिपि पाएका छन्। विस्थापित भएर नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय रसुवाले होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि वितरण गरेको हो।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण विस्थापित भएका उनीहरूले घरजग्गा तथा अन्य सम्पत्तिसँगै नागरिकता र पहिचान खुल्ने कागजातसमेत गुमाएका थिए। आवश्यक कागजात नहुँदा सरकारी सेवा लिन तथा दैनिक कामकाज गर्न समस्या भएपछि उनीहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण गरिएको हो।
उत्तरगया गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालय रसुवाले सोमबार २०२ जनालाई नागरिकताको प्रतिलिपि उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए।
विपद्का कारण विस्थापित नागरिकलाई पुनःस्थापना तथा सरकारी सेवा प्राप्तिमा सहजता होस् भन्ने उद्देश्यले होल्डिङ सेन्टरमै पुगेर सेवा प्रदान गरिएको प्रशासनले जनाएको छ।




