काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पाँच विकेटले पराजित गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले २० बल बाँकी छँदै पाँच विकेटको जित निकालेको हो।
चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमुलनले सर्वाधिक ४३ रन बनाए। उनले २१ बलमा तीन चौका र तीन छक्का प्रहार गरे।
इशान पाण्डेले २९ बलमा २५ रन जोड्दा शेरफेन रदरफोर्डले १५ बलमा २१ रन बनाए। अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन्।
बलिङतर्फ चितवनका रञ्जितकुमारले तीन विकेट लिए। उनले चार ओभरमा २८ रन खर्चिए। रिजन ढकाल र मौसुम ढकालले समान एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो। चितवनका रवि बोपराले सर्वाधिक ४९ रन बनाए। उनले ४० बलमा उक्त रन जोडे। बिबेक यादवले १५ बलमा १७ र डेविड मलानले १७ बलमा १६ रन बनाए।
सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए। दीपेन्द्रसिंह ऐरी, अनिल खरेल र मौसुम ढकालले समान एक विकेट हात पारे।
४३ रन बनाउनुका साथै एक ओभर बलिङ गरेका ब्रान्डन म्याकमुलन खेलको प्लेयर अफ द म्याच घोषित भए।




