बैंकिङ क्षेत्रमा नाफाको उछाल, तीन महिनामै कमाए १९ अर्ब ११ करोडमाथि (सूचीसहित)

नबिल सबैभन्दा अगाडि, राष्ट्रिय वाणिज्य बैंकको नाफामा झन्डै तीन गुणाको वृद्धि

काठमाडौँ । बैंकिङ क्षेत्रको नाफामा उल्लेख्य सुधार देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल १९ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरूको समग्र नाफा करिब ३९ प्रतिशतले बढेको हो।

बैंकहरूले सार्वजनिक गरेका अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांश बैंकको नाफा बढेको छ। अघिल्लो वर्ष घाटामा रहेका बैंकसमेत नाफामा फर्किएका छन् भने केही बैंकले आफ्नो आम्दानी उल्लेख्य रूपमा विस्तार गरेका छन्। यद्यपि, केही बैंकको नाफामा भने गिरावट देखिएको छ।

नबिलको अग्रता कायमै

नाफाका आधारमा नबिल बैंकले आफ्नो अग्रता कायम राखेको छ। बैंकले पहिलो त्रैमासमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको बैंकले यसपटक आफ्नो नाफा थप विस्तार गरेको हो।

दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँको तुलनामा बैंकको नाफामा सुधार देखिएको छ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले भने नाफा वृद्धिमा उल्लेख्य छलाङ मारेको छ। बैंकले गत वर्षको पहिलो त्रैमासमा ५८ करोड ८७ लाख रुपैयाँ नाफा कमाएकोमा यस वर्ष १ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ पुर्‍याएको छ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब १८ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष ४५ करोड ५ लाख रुपैयाँमा सीमित रहेको बैंकको नाफामा उल्लेख्य वृद्धि भएको छ।

एक अर्बभन्दा बढी नाफा कमाउने बैंकको सूचीमा एभरेष्ट बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, कृषि विकास बैंक, कुमारी बैंक र सानिमा बैंक पनि परेका छन्।

एभरेष्ट बैंकले १ अर्ब २५ करोड २७ लाख, प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड ७६ लाख, एनएमबि बैंकले १ अर्ब १६ करोड ४२ लाख, कृषि विकास बैंकले १ अर्ब ९ करोड २३ लाख, कुमारी बैंकले १ अर्ब ७ करोड ४५ लाख र सानिमा बैंकले १ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

सिटिजन्स बैंकले अघिल्लो वर्षको पहिलो त्रैमासमा व्यहोरेको २२ करोड ४ लाख रुपैयाँको नोक्सानीलाई उल्टाउँदै यस वर्ष १० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यससँगै बैंक घाटाबाट नाफामा फर्किएको छ।

लक्ष्मी सनराइज बैंकको नाफा ३३ करोड २३ लाखबाट बढेर ६५ करोड ३३ लाख रुपैयाँ पुगेको छ। प्रभु बैंकले पनि ३६ करोड ५७ लाखको तुलनामा बढाएर ६४ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको छ। सिद्धार्थ बैंकको नाफा ३२ करोड ४० लाखबाट बढेर ८५ करोड १५ लाख रुपैयाँ पुगेको छ।

तर, सबै बैंकको वित्तीय अवस्थामा समान सुधार देखिएको छैन। हिमालयन बैंकको नाफा ७० करोड २९ लाखबाट घटेर ६८ करोड ४८ लाख रुपैयाँमा झरेको छ। प्राइम कमर्सियल बैंकको नाफा पनि अघिल्लो वर्षको १ अर्ब २५ करोड ८४ लाखबाट घटेर १ अर्ब १८ करोड ७६ लाख रुपैयाँ कायम भएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफामा समेत गिरावट आएको छ।

यस्तो छ २० वाणिज्य बैंकको नाफा विवरण

बैंक २०८३/८४ पहिलो त्रैमास अघिल्लो वर्ष
नबिल २ अर्ब ५५ करोड ५१ लाख १ अर्ब ७५ करोड ६९ लाख
ग्लोबल आइएमई २ अर्ब ३१ करोड ३८ लाख १ अर्ब ८५ करोड ८६ लाख
राष्ट्रिय वाणिज्य १ अर्ब ६४ करोड ९८ लाख ५८ करोड ८७ लाख
एभरेष्ट १ अर्ब २५ करोड २७ लाख १ अर्ब १७ करोड ९२ लाख
प्राइम कमर्सियल १ अर्ब १८ करोड ७६ लाख १ अर्ब २५ करोड ८४ लाख
नेपाल इन्भेष्टमेन्ट मेगा १ अर्ब १८ करोड १४ लाख ४५ करोड ५ लाख
एनएमबि १ अर्ब १६ करोड ४२ लाख १ अर्ब ३० करोड ८५ लाख
कृषि विकास १ अर्ब ९ करोड २३ लाख ५७ करोड ३८ लाख
कुमारी १ अर्ब ७ करोड ४५ लाख १ अर्ब ५ करोड ६५ लाख
सानिमा १ अर्ब ५ करोड १४ लाख ४५ करोड ४९ लाख
सिद्धार्थ ८५ करोड १५ लाख ३२ करोड ४० लाख
नेपाल बैंक ८३ करोड २१ लाख ५८ करोड ८२ लाख
स्ट्यान्डर्ड चार्टर्ड ६७ करोड १४ लाख ६९ करोड ३९ लाख
हिमालयन ६८ करोड ४८ लाख ७० करोड २९ लाख
लक्ष्मी सनराइज ६५ करोड ३३ लाख ३३ करोड २३ लाख
प्रभु ६४ करोड ७४ लाख ३६ करोड ५७ लाख
नेपाल एसबिआई ५५ करोड ८५ लाख ४९ करोड ७६ लाख
माछापुच्छ्रे ५५ करोड ११ लाख ४१ करोड ७९ लाख
एनआइसी एशिया १२ करोड ७४ लाख १२ करोड २१ लाख
सिटिजन्स १० करोड २७ लाख -२२ करोड ४ लाख

समग्रमा पहिलो त्रैमासमा बैंकहरूको नाफा बढे पनि सबै बैंकको अवस्था समान छैन। नाफा वृद्धिसँगै निष्क्रिय कर्जा, कर्जा नोक्सानी व्यवस्था, वितरणयोग्य मुनाफा र सञ्चालन आम्दानीको अवस्थाले मात्र बैंकहरूको वास्तविक वित्तीय सबलताको चित्र स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *