काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.४५ अंकले घटेर २६९०.१५ विन्दुमा बन्द भएको छ।
परिसूचक घटे पनि बजारमा कारोबार रकम भने उच्च देखिएको छ। शुक्रबार ३४८ कम्पनी तथा धितोपत्रका २ करोड २८ लाख ६२ हजार कित्ता सेयर ७४ हजार ५४ पटक खरिदबिक्री हुँदा ८ अर्ब ८९ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ।
कारोबारमा आएका कम्पनीमध्ये १६९ वटाको सेयर मूल्य घटेको छ भने १०२ वटाको मूल्य बढेको छ। आठ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएन।
समूहगत परिसूचकतर्फ विकास बैंक समूह सर्वाधिक १.६१ प्रतिशतले बढेको छ। बैंकिङसहित आठ समूहका परिसूचक भने घटेका छन्।
शुक्रबार बेनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७०९.७० रुपैयाँ पुगेको छ। स्वाभिमान लघुवित्तको सेयर मूल्य पनि १२.११ प्रतिशतले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको ३८ करोड ४८ लाख २९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
त्यस्तै, शिवम् सिमेन्टको ३० करोड ३९ लाख रुपैयाँ, घलेम्दी हाइड्रोको २७ करोड ९७ लाख रुपैयाँ र ग्रीन भेञ्चर्सको २६ करोड १७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।




