काठमाडौं । नेपाल र भारतबीच सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण तथा प्रविधिमैत्री सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा साझा प्रतिबद्धता व्यक्त गर्दै नेपाल–भारत १०औँ समन्वय बैठक सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेल र भारतको सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक सञ्जय सिंघलको नेतृत्वमा काठमाडौँमा आयोजित बैठक यही कात्तिक ११ गतेदेखि सुरु भई कात्तिक १३ गते सम्पन्न भएको हो ।

बैठकमा अघिल्लो नवौँ समन्वय बैठकका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै रणनीतिक, सञ्चालनगत तथा कार्यक्षेत्रीय तहमा सहकार्य र शीघ्र सूचना आदानप्रदानमार्फत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध नियन्त्रण गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको छ ।

बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल, नेपालका उच्च अधिकृत, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, नापी विभाग, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू सहभागी थिए । भारतका तर्फबाट सशस्त्र सीमा बलका उच्च अधिकृत, काठमाडौँस्थित भारतीय दूतावासका प्रतिनिधि तथा भारतको विदेश र गृह मन्त्रालयका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

बैठकमा नेपाल–भारत सीमा क्षेत्रको समग्र सुरक्षा अवस्था शान्तिपूर्ण र व्यवस्थित कायम राख्न दुवै देशका सुरक्षा निकायका इकाइहरूले प्रदर्शन गरेको व्यावसायिकता र आपसी सहकार्यको प्रशंसा गरिएको थियो ।

साथै, सामाजिक सञ्जालको दुरुपयोग तथा भ्रामक सूचनाबाट आपसी सुरक्षा र सामाजिक सद्भावमा पर्न सक्ने असर न्यूनीकरण गर्न संस्थागत सहकार्य सुदृढ गर्ने सहमति भएको छ ।

सीमावर्ती दशगजा क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि अनधिकृत खेतीपाती, अतिक्रमण तथा अवैध संरचना हटाउने कार्यलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ । त्यसैगरी, बाउन्ड्री वर्किङ ग्रुप र सर्भे अफिसियल्स कमिटी (क्इऋ) का निर्णयअनुसार सीमा स्तम्भहरूको नियमित मर्मतसम्भार तथा पुनर्निर्माणका लागि स्थलगत तहमा समन्वय बढाउने सहमति भएको छ ।

सीमापार आपराधिक सञ्जाल, अवैध तस्करी, मानव बेचबिखन, नक्कली मुद्रा तथा लागुऔषध ओसारपसार नियन्त्रणका साथै तेस्रो मुलुकका नागरिकको अनधिकृत आवागमन रोक्न समयमै सूचना आदानप्रदान गर्ने कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन् ।

खुला सीमाको दुरुपयोग गरी हुने तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण गर्न सीमा नाकामा जाँच तथा कागजात प्रमाणीकरणलाई कडा बनाउने, दशगजा क्षेत्रमा समन्वयात्मक गस्ती सञ्चालन गर्ने र शङ्कास्पद व्यक्तिबारे तत्काल सूचना आदानप्रदान गर्ने सहमति पनि भएको छ ।

सीमा सुरक्षासम्बन्धी चुनौती सामना गर्न आधुनिक प्रविधिको प्रयोग र विशेष तालिममा सहयोग विस्तार गर्ने तथा दुवै सुरक्षा निकायबीच नियमित अध्ययन भ्रमण सञ्चालन गरी संस्थागत सम्बन्ध थप सुदृढ बनाउने निर्णय गरिएको छ ।

परम्परागत सुरक्षा प्रणालीलाई आधुनिक तथा प्रविधिमैत्री स्मार्ट सीमा व्यवस्थापन प्रणालीमा रूपान्तरण गर्ने विषयमा समेत बैठकमा विस्तृत छलफल भएको थियो ।

जसअनुसार दशगजा क्षेत्रको निगरानीका लागि सीसीटीभी जडान, प्रमुख सीमा नाकामा लगेज स्क्यानर तथा वाक–थ्रु मेटल डिटेक्टर जडान र आ–आफ्नो भूभागमा ड्रोनको प्रयोग विस्तार गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाउनेबारे छलफल भएको छ ।

त्यसैगरी, बाढी, पहिरो तथा भूकम्पजस्ता प्राकृतिक विपद्को समयमा संयुक्त रूपमा उद्धार तथा प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा ’व्यष्लत क्धषत ध्बतभच च्भकअगभ भ्हभचअष्कभ’ सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ ।

वैधानिक रूपमा आवतजावत गर्ने यात्रुलाई सहज सेवा उपलब्ध गराउन सीमा नाकाहरूमा सहायता कक्ष (हेल्प डेस्क) विस्तार गर्ने सहमति भएको छ । साथै, मैत्रीपूर्ण खेलकुद प्रतियोगिता तथा विभिन्न अन्तर्राष्ट्रिय दिवस र प्रमुख चाडपर्वका अवसरमा संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गरी दुई देशबीचको आपसी विश्वास, मित्रता र सद्भाव अभिवृद्धि गर्ने निर्णयसमेत गरिएको छ ।

सन् २०१२ देखि नेपाल र भारतमा पालैपालो आयोजना हुँदै आएको सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सशस्त्र सीमा बलबीचको द्विपक्षीय समन्वय बैठकको ११औँ संस्करण आगामी वर्ष भारतमा आयोजना हुने जनाइएको छ ।