विराटनगर । सवारी दुर्घटनामा मृत्यु भएको भन्दै परिवारले दाहसंस्कार गरिसकेका मोरङका ३७ वर्षीय पदमबहादुर राई जिउँदै घर फर्किएका छन्।लेटाङ नगरपालिका–५ खेरुवाका राई घर फर्किएपछि दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचानबारे प्रहरीले पुनः अनुसन्धान थालेको छ।
गत जेठ २६ गते बिहान साढे ८ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित चतरा–पकली सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बुढीगंगास्थित विराट टिचिङ अस्पताल लगिएको थियो। उपचारकै क्रममा जेठ २७ गते उनको मृत्यु भएको थियो।
मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले शव कोशी अस्पतालको शवगृहमा राखेर आफन्तलाई सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो। त्यसपछि पदमबहादुरकी आमाले शव आफ्नै छोराको भएको भन्दै सनाखत गरेकी थिइन्।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाएपछि परिवारले विधिपूर्वक दाहसंस्कार गरेको थियो। परिवारले दुर्घटना बीमाबापतको रकमसमेत प्राप्त गरिसकेको बताइएको छ।
तर, मृत्यु भएको भनिएका पदमबहादुर नै जिउँदै घर फर्किएपछि घटना थप रहस्यमय बनेको छ। मोरङका प्रहरी प्रमुख काविद कटुवालले पदमबहादुर घर फर्किएको पुष्टि गर्दै बिहीबार परिवारलाई कोशी अस्पताल बोलाइएको जानकारी दिएका छन्।
अब प्रहरीले शव सनाखत गर्दा तयार पारिएका कागजात फिर्ता लिने प्रक्रिया अघि बढाउनुका साथै दुर्घटनामा मृत्यु भएका वास्तविक व्यक्तिको पहिचान र खोजी गर्नुपर्ने भएको छ।
प्रहरीका अनुसार पदमबहादुर २०८२ साल माघदेखि घरमा थिएनन्। उनी परिवार तथा आफन्तलाई जानकारी नदिई घर छाडेर हिँडेका थिए। आमाले शव आफ्नै छोराजस्तो देखेर सनाखत गरेको हुन सक्ने प्रहरी प्रमुख कटुवालले बताएका छन्।
पदमबहादुरले भने आफू यतिबेलासम्म भारतमा रहेको दाबी गरेका छन्।





