काठमाडौं । हिम पर्वत हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले बुधबारदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले जारी पुँजी एक अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरका ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ। प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य रहेको उक्त सेयरमध्ये पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर बिक्री खुला गरिएको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता सेयर छुट्याएको छ। यसमध्ये १० लाख १४ हजार कित्ता आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाले पाउनेछन्। बाँकी ६ लाख ७६ हजार कित्ता अन्य प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ।
दोलखाको बिगु गाउँपालिकाका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिकाका वडा नम्बर २, ३ र ४ लाई अति प्रभावित क्षेत्रका रूपमा वर्गीकरण गरिएको कम्पनीले जनाएको छ। यीबाहेक दुवै गाउँपालिकाका अन्य वडाका स्थानीयले बाँकी सेयरका लागि आवेदन दिन सक्नेछन्।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चार करोड २२ लाख ५० हजार रुपैयाँ बराबरका चार लाख २२ हजार पाँच सय कित्ता सेयर निष्कासन गरिएको छ। यो सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत हो।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीयले कात्तिक २५ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा पर्याप्त आवेदन नपरे मंसिर १० गतेसम्म म्याद थपिनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने कात्तिक १६ गतेसम्म आवेदन दिने समय तोकिएको छ। उक्त अवधिमा पर्याप्त आवेदन नपरे कात्तिक २५ गतेसम्म आवेदन दिन सकिनेछ।
स्थानीय बासिन्दाले नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक, प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर र सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालय वा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ।





