काठमाडौँ । चालु आर्थिक वर्ष सुरु भएयता चार सचिवसहित ४६४ निजामती कर्मचारीले राजीनामा दिएका छन्। राष्ट्रिय किताबखाना (निजामती) का अनुसार साउन १ गतेदेखि हालसम्म राजपत्राङ्कित र राजपत्र अनङ्कित गरी ४६४ कर्मचारीले पदबाट राजीनामा दिएका हुन्।
किताबखानाका निर्देशक तथा सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठका अनुसार राजीनामा दिनेमा २०७ जना राजपत्राङ्कित र २५७ जना राजपत्र अनङ्कित कर्मचारी छन्।
राजपत्राङ्किततर्फ चार सचिव, ३३ सहसचिव, ७२ उपसचिव र ९८ शाखा अधिकृतले राजीनामा दिएका छन्। त्यस्तै, राजपत्र अनङ्किततर्फ १३७ जना खरिदार तथा नायब सुब्बा तहका र १२० जना श्रेणीविहीन कर्मचारीले राजीनामा दिएका छन्।
सरकारले प्रतिनिधि सभामा दर्ता गरेको निजामती कर्मचारी विधेयकमा विधेयक कार्यान्वयनमा आउने बेलामा पहिलो पटक ३० वर्ष सेवा अवधि पुगेको वा ५५ वर्ष पुगेका कर्मचारीले राजीनामा दिनु पर्ने व्यवस्था राखिएपछि कर्मचारीहरूले धमाधम राजीनामा दिएका हुन् । तर, राजीनामा दिने कर्मचारीले राजीनामा पत्रमा भने घरायसी कारण भनेका पनि किताबखानाले जनाएको छ।
किताबखानाका अनुसार यी कर्मचारीहरूको राजीनामा सरकारले स्वीकृत गरिसकेको छ।





