चितवन । चितवनका जग्गा तथा आवास व्यवसायीले जग्गा कित्ताकाटमा देखिएका अवरोध हटाउन र भूउपयोग नीतिमा स्पष्टता ल्याउन सरकारसँग माग गरेका छन्।
नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीको नेतृत्वमा गएको टोलीले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलसँग सौराहामा भेट गरी घरजग्गा कारोबारमा देखिएका समस्या समाधान गर्न आग्रह गरेको हो
चितवनका विभिन्न कार्यक्रममा सहभागी भइरहेकी मन्त्री रावलसँगको भेटमा व्यवसायीले जग्गा कित्ताकाटसम्बन्धी नीतिगत अन्योल हटाउन, भूउपयोग नीति स्पष्ट बनाउन तथा लाभकर र राजस्वसम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्न माग गरेका थिए।
संघका अध्यक्ष अधिकारीले घरजग्गा कारोबारबाट सरकारले राजस्व प्राप्त गर्ने भएकाले यस क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन आवश्यक रहेको बताएका थिए ।
जवाफमा मन्त्री रावलले भूउपयोग नीतिलाई स्पष्ट बनाउँदै जग्गा कारोबारमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएकी थिइन् । जग्गा कित्ताकाट खुलाउने विषयमा आवश्यक सहजीकरण छिट्टै गर्ने आश्वासन दिएको व्यवसायीले जनाएका छन् ।
भेटमा संघका वरिष्ठ उपाध्यक्ष हेमन्त केसी (हरि), उपाध्यक्ष जयराम खत्री, कार्यसमिति सदस्य शंकर सिटौला, आईपी थापालगायत सहभागी थिए ।





