हिम पर्वत हाइड्रोपावरको आईपीओ बुधबारदेखि खुल्दै, क-कसले भर्न पाउने ?

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गते बुधबारदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न अनुमति पाएको छ। यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ५९ लाख १५ हजार कित्ता शेयर जारी गर्नेछ।

त्यसमध्ये १६ करोड ९० लाख रुपैयाँबराबरको १६ लाख ९० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गर्दैछ। त्यसमध्ये १० लाख १४ हजार कित्ता शेयर आयोजनाबाट अतिप्रभावित क्षेत्र दोलखाको बिगु गाउँपालिकाका वडा नं. ५, ६, ७ र ८ र कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का स्थानीय बासिन्दाका लागि जारी गरिने भने बाँकी रहेको ६ लाख ७६ हजार कित्ता ती दुवै गाउँपालिकाका अन्य वडाका स्थानीयलाई बिक्री खुला गरिनेछ।

यसैगरी कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ४ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिक्री खुला गर्नेछ। जसअनुसार १०० रुपैयाँ अंकित दरका ४ लाख २२ हजार ५०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरिनेछ।

यो कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित स्थानीयकालागि आईपीओ निष्काशन बन्द छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गते हुनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक, प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, सीडीएससीको मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *