काठमाडौं । नेप्सेमा सूचीकृत तीन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणसम्बन्धी निर्णय गरेका हुन्।
ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। संस्थाले ६ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ। बोनस शेयरबापत ३ करोड ८८ लाख ९७ हजार ८६७ रुपैयाँ ८३ पैसा तथा नगद लाभांशबापत २ करोड २६ लाख ९० हजार ४२२ रुपैयाँ ९० पैसा वितरण गरिनेछ। संस्थाको हाल कायम चुक्तापुँजी ६४ करोड ८२ लाख ९७ हजार ७९७ रुपैयाँ २२ पैसा रहेको छ।
त्यस्तै, गुराँस लघुवित्तले गत आर्थिक वर्षका लागि कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश रहेको छ। उक्त प्रस्ताव पारित गर्न संस्थाले आफ्नो ११ औँ वार्षिक साधारणसभा आउँदो कात्तिक १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा धनकुटा नगरपालिकाको हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजेबाट सुरु हुनेछ। संस्थाले बुक क्लोज गरिसकेको छ ।
यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३२३ रुपैयाँको कुल ११.०५२६ प्रतिशतले हुन आउने १४ करोड ८६ लाख ४३ हजार ६७३ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। संस्थाले बोनस शेयर भने वितरण नगर्ने निर्णय गरेको छ।





