पाकिस्तानका हुसेन तलतले कर्णाली ‘याक्स’बाट एनपीएल खेल्ने

काठमाडौं । पाकिस्तानी अलराउन्डर हुसेन तलत नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्। कर्णालीले ३० वर्षीय तलतलाई विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरेको हो।

कर्णाली याक्सले सामाजिक सञ्जालमार्फत तलत टोलीमा आबद्ध भएको जानकारी दिएको छ। उनले पाकिस्तानको राष्ट्रिय टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन्।

तलतले पाकिस्तानका लागि १२ एकदिवसीय खेलमा २२४ रन बनाएका छन्। त्यस्तै, २३ टी–२० अन्तर्राष्ट्रिय खेलमा ४४१ रन बनाउनुका साथै सात विकेट लिएका छन्।

घरेलु क्रिकेट तथा विभिन्न फ्रेन्चाइज प्रतियोगितामा अनुभव बटुलेका तलतले समग्र टी–२० क्रिकेटमा २०४ खेल खेल्दै तीन हजार ९५० रन बनाएका छन्। उनले पाकिस्तान सुपर लिग (पीएसएल) र बंगलादेश प्रिमियर लिग (बीपीएल) जस्ता प्रतियोगितामा समेत खेलिसकेका छन्।

अनुभवी अलराउन्डर तलतको आगमनले कर्णाली याक्सको ब्याटिङ र बलिङ दुवै पक्षलाई बलियो बनाउने अपेक्षा गरिएको छ। एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौंमा आयोजना हुँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *