काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भएको आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्नो एघारौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रिय कार्यालय सिंहदरबार स्थित सभाहलमा सञ्चालित साधारणसभामा कम्पनीका अध्यक्ष विनय रमण पौडेलले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । छलफलपछि सभाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत अर्थात् चार करोड रुपैयाँ कर सहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
सभाले कम्पनीको आ.व. २०८३/८४ को वाह्य लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय गर्नुका साथै कम्पनीका नवनियुक्त सञ्चालकहरूको नियुक्ति अनुमोदन गरेको छ । सभामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका उपकार्यकारी अधिकृत निम्बल श्रेष्ठले १०० प्रतिशत शेयर प्रतिनिधित्वसहित सहभागिता जनाए ।
प्रमुख अतिथिका रूपमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल उपस्थित हुनुभएको उक्त कार्यक्रममा कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका प्रतिनिधि, बाह्य लेखा परीक्षकहरू तथा आरविवि म्युचुअल फण्ड १ र २ का लेखा परीक्षकहरूको पनि उपस्थिति रहेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलका अनुसार आर्थिक वर्ष २०८२/८३ मा आरविवि म्युचुअल फण्ड १ ले २.७५ प्रतिशत, म्युचुअल फण्ड २ ले ६ प्रतिशत र आरविवि मर्चेन्ट बैंकिङले २० प्रतिशत नगद लाभांश वितरण गर्न कम्पनी सफल भएको छ ।






