जलवायु परिवर्तनको असरबारे संसदीय समितिमा छलफल

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा परेको गम्भीर क्षति र आगामी जलवायु परिवर्तन सम्मेलनलगायत अन्तर्राष्ट्रिय कूटनीतिक प्रवर्द्धनका विषयमा छलफल भएको छ ।

बिहीबार बसेको समितिको बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव डा. चिरञ्जीवी प्रसाद पोखरेलले जलवायु परिवर्तन विश्वव्यापी समस्या भएकाले नेपालले एक्लै समाधान गर्न नसक्ने बताए ।

उनले भने, ‘जलवायुको कुरा गर्दा नेपालले मात्रै धानेर धानिने कुरो होइन र एउटा संस्थाले धानेर धानिने कुरो होइन। यो ग्लोबल इम्प्याक्टको कुरो हो, ग्लोबल इस्यु हो।’

नेपाल हिमाली क्षेत्रमा रहेकाले जलवायु परिवर्तनको असर बढी भोग्नुपरेको उल्लेख गर्दै उनले हिमाली क्षेत्रबाट बग्ने पानीमा तल्लो क्षेत्रका लाखौँ मानिस आश्रित रहेको बताए ।

बैठकमा पोखरेलले वन्यजन्तु व्यवस्थापन, मानव–वन्यजन्तु द्वन्द्व तथा चिडियाखाना बन्द गर्नुपरेका कारणबारे पनि धारणा राखे । कोभिड–१९ महामारी र बर्ड फ्लूको जोखिमका कारण मानव स्वास्थ्यमा असर पर्न सक्ने अवस्था देखिएपछि चिडियाखाना बन्द गर्नुपरेको उनको भनाइ थियो ।

उनले चिडियाखाना बन्द गर्ने निर्णय कुनै मन्त्री वा उनको परिवारसँग जोडिएको विषय नभएको स्पष्ट पारे ।

मानव–वन्यजन्तु द्वन्द्वका विषयमा बोल्दै पोखरेलले बाँदरको समस्याबारे राष्ट्रिय प्रकृति संरक्षण कोष र त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र विभागले ४४ वटा पालिकामा अध्ययन गरेको जानकारी दिए ।

समितिका सभापति कृष्णप्रसाद पौडेलले जलवायु परिवर्तन र त्यसका बहुआयामिक प्रभावबारे समितिले गम्भीरतापूर्वक छलफल गरिरहेको बताए ।

उनले भने, ‘जलवायु परिवर्तन र त्यसको असरका बारेमा समिति अलि कमिटेड छ र यसको केही न केही सोलुसन ल्याउनुपर्छ भन्नेमा प्रतिबद्धता पनि छ।’

नेपालको भौगोलिक अवस्थिति र जलवायु परिवर्तनले पारेको बहुआयामिक प्रभाव संवेदनशील विषय भएको उल्लेख गर्दै उनले यसबारे समितिमा नियमित छलफल गरिने बताए ।

सभापति पौडेलले जलवायु परिवर्तनको विषय व्यापक भएकाले त्यसलाई ठोस र कार्यान्वयन गर्न सकिने विषयमा रूपान्तरण गर्न आवश्यक रहेको बताए ।

उनले बैठकमा प्रस्तुत तथ्यांक र विज्ञहरूको सुझावका आधारमा विषयलाई निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *