काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरू दसैँ बिदाका दिनमा पनि खुला रहने भएका छन्। मानव अधिकार उल्लङ्घनसम्बन्धी उजुरी ग्रहण गर्न र आकस्मिक घटनाको अनुगमन गर्न आयोगले बिदाका दिनमा समेत कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।
आयोगका अनुसार दसैँ बिदाका दिन कार्यालयहरू बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन्।यस अवधिमा मानव अधिकार उल्लङ्घनका घटनासम्बन्धी उजुरी दिन तथा आकस्मिक प्रकृतिका घटनाबारे जानकारी गराउन आयोगका सम्बन्धित कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
त्यस्तै, आकस्मिक प्रयोजनका लागि आयोगले तोकेका कार्यालय तथा मोबाइल नम्बरहरूमा समेत सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै दसैँ बिदाका समयमा पनि मानव अधिकार संरक्षण तथा संवर्द्धनसम्बन्धी कार्यलाई निरन्तरता दिन कार्यालय खुला राख्ने व्यवस्था गरिएको जानकारी दिएका छन्।





