बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्यो

काठमाडौं । बैंकिङ प्रणालीमा पर्याप्त तरलता र सहज वित्तीय वातावरणका कारण बैंक तथा वित्तीय संस्थाहरूको आधार दर (बेस रेट)सँगै निक्षेप र कर्जाको ब्याजदरमा गिरावट आएको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को दुई महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरू सबैको ब्याजदर अघिल्लो वर्षको तुलनामा घटेको छ।

प्रतिवेदनअनुसार २०८३ भदौ मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर घटेर ६.३८ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७.६६ प्रतिशत रहेको थियो। यसैगरी विकास बैंकहरूको कर्जाको औसत ब्याजदर ८.९५ प्रतिशतबाट घटेर ७.६७ प्रतिशत र वित्त कम्पनीहरूको १०.१९ प्रतिशतबाट घटेर ८.४७ प्रतिशत कायम भएको छ।

वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर २०८२ भदौमा ३.९६ प्रतिशत रहेकोमा २०८३ भदौमा ३.११ प्रतिशतमा सीमित भएको छ। समीक्षा अवधिमा विकास बैंकहरूको निक्षेपको औसत ब्याजदर ४.५८ प्रतिशतबाट घटेर ३.४८ प्रतिशत र वित्त कम्पनीहरूको ५.७३ प्रतिशतबाट घटेर ४.०४ प्रतिशतमा ओर्लिएको छ।

वाणिज्य बैंकहरूको औसत आधार दर ५.७२ प्रतिशतबाट घटेर ४.७० प्रतिशतमा आइपुगेको छ। त्यस्तै विकास बैंकहरूको आधार दर ८.०९ प्रतिशतबाट घटेर ६.१५ प्रतिशत र वित्त कम्पनीहरूको ८.७७ प्रतिशतबाट घटेर ६.७२ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *