काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सबाट बाहिरिएका कवि फुँयाल हिमालयन लाइफ इन्स्योरेन्समा डेपुटी सीइओ बनेका छन् । हिमालयन लाइफमा सीइओ बनाउने योजनानुसार अध्यक्ष नारायण बजाजले फुँयाललाई तत्कालका लागि उनलाई सिनियर डीसीईओ पदमा नियुक्त गरेका छन् । अध्यक्ष फुँयालले हुँदै नभएको डीसीईओ पद क्रियट गरेर उनलाई नियमविपरीत नियुक्त गरेका हुन्।
हिमालयन लाइफ इन्स्योरेन्समा दुई डीसीईओ हुने व्यवस्था छ। जुन पद खाली छैन । पद खाली नै नभएको संस्थामा फुँयाललाई डेपुटी सीइओ बनाएर अध्यक्ष बजाजले नियम मिचेका छन्। कर्मचारी विनियमावलीमा भएको दुई वटै डीसीईओ पद रिक्त छैन तर उनले अर्का डेपुटी सीइओ पनि नियुक्त गरेका छन्।
हिमालयन लाइफ इन्स्योरेन्सको कर्मचारी विनियमावली अनुसार कम्पनीमा २ जना मात्रै नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहने व्यवस्था छ । नेपाल बीमा प्राधिकरणबाट नै स्वीकृत भएको विनियमावली अनुसार नायब प्रमुख कार्यकारी अधिकृत र कनिष्ठ नायब कार्यकारी अधिकृत रहने व्यवस्था छ ।
कर्मचारी विनियमावली अनुसार हाल कम्पनीको उक्त दुई वटै पद पूर्तिको भएको अवस्था छ । कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा दिनेश बहादुर अमात्य र कनिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा विभोर झा रहेका छन्।
यस अवस्थामा हिमालयन लाइफले कवि फुयाँललाई डीसीईओ बनाउन मिल्दैन । यसका लागि विनियमावली शंसोधन गर्ने र शंसोधित विनियमावली नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएको हुनुपर्छ । त्यसकारण कम्पनीले गरेको नयाँ नियुक्ति अर्थात् कवि फुँयालको नियुक्त अवैध देखिएको छ।
यस विषयमा कम्पनीका अध्यक्ष नारायण बजाजले कर्मचारी विनियमावलीमा भएको उक्त पदहरू केवल तह मात्र भएको भन्दै कम्पनीमा जति संख्यामा पनि डीसीईओ राख्न पाइने तर्क गरेका छन्। तर, आर्थिक अवस्था नाजुक बनिरहेका बेला जथाभावी पद सिर्जना गर्दै नयाँ कर्मचारी नियुक्त गर्नू कम्पनीको हित विवारित भएको लगानीकर्ताहरुको तर्क छ ।
आदतमा मुद्दा परेपछि निलम्बनमा परेका हिमालयन लाइफ इन्स्योरेन्सका कर्मचारी एसिईओ लक्ष्मण ज्ञवाली र लगानी प्रमुख विवेक शाह उच्च अदालतको आदेशमा हाजिर भइसकेका छन् । त्यस्तै एसिईओ राजन अधिकारी पनि सोहि प्रकारको मुद्दा उच्च अदालत पाटनमा मुद्दा विचाराधीन छ ।
हाल इन्स्योरेन्सका सीईओ कपिल कुमार दाहालले निलम्बन फुकुवा गरीपाउँ भन्दै उनले सर्वोच्चमा मुद्दा दायर गरेका छन् । हिमालयन लाइफले सीईओ दाहाल निलम्बनमा परेकै अवस्थामा यस अघि पनि सीईओ पदका लागि दरखास्त नै आह्वान गरेको थियो । तर, सर्वोच्च अदालतले त्यसलाई रोकिदिएको छ ।
यसबाट अध्यक्ष बजाजले निलम्बनमा रहेका प्रमुख कार्यकारी अधिकृतदेखि अन्य कर्मचारीको मुद्दा अदालतबाट छिनोफानो नहुँदै कम्पनीमा आँफु औकुलामा नयाँ कर्मचारी भर्ना गर्न खोजेको देखिएको छ।
यस सम्बन्धमा बीमा प्राधिकरणले समेत चासो देखाएको छ । प्राधिकरणले हिमालयन लाईफ इन्स्योरेसलाई पत्र लेख्दै अदालतका दुवै आदेशको पालना गर्न निर्देशन दिएको छ ।
प्राधिकरणको पत्रमा भनिएको छ, – ‘तहाँ बीमकका कर्मचारी राजन प्रसाद अधिकारीले दायर गरेको उत्प्रेषण परमादेश समेतको रिट न. ०८३-WO-०४९८ को मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट मिति २०८३।०६।०६ मा जारी भएको अल्पकालीन अन्तरिम आदेश प्राधिकरणलाई जानकारी हुन आएको तथा मिति २०८३।०६।१३ मा पुनः आदेश भई निज उपर काठमाण्डौ जिल्ला अदालतमा विचाराधिन रहेको मुद्दाको सक्कल मिसिल झिकाई अन्तरीम आदेश उपरको सुनुवाई हुने मिति २०८३।०७। १२ मा रहेको देखिंदा सम्मानित अदालतको उक्त दुवै आदेशको प्रति यसैसाथ संलग्न गरी आवश्यक कार्यार्थ पठाईएको व्यहोरा निर्णयानुसार जानकारी गराईएको छ ।’

नेपाल बीमा प्राधिकरणले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारी राजन प्रसाद अधिकारीले दायर गरेको मुद्दा र अदालतबाट जारी भएका आदेशबारे २०८३ असोज २२ गते हिमालयन लाइफ इन्स्योरेन्सलाई कम्पनीलाई औपचारिक जानकारी गराउँदै आवश्यक कारबाहीका लागि पत्राचार गरेको हो।
अदालतमा विचाराधीन रहेको मुद्दा र कर्मचारीविरुद्ध जारी आदेशका विषयमा नियामक निकायले नै कम्पनीलाई औपचारिक पत्राचार गरेपछि हिमालयन लाइफको आगामी कदम चासोको विषय बनेको छ। यद्यपि, अदालतको अन्तिम फैसला आउन बाँकी रहेकाले कर्मचारीविरूदको आरोपलाई दोष प्रमाणित भएको अर्थमा लिन नमिल्ने देखिएको छ।





