मुक्तिनाथ । दसैँलाई लक्षित गरी कोरला नाका हुँदै नेपाल भित्रिएका विद्युतीय सवारी साधन मुस्ताङमै रोकिएका छन् । असोज ११ गतेको बाढीले बेनी–जोमसोम सडक अवरुद्द भएपछि कोरला हुँदै आयात भएका २ हजार ५ सय युनिटभन्दा बढी ईभी मुस्ताङमा रोकिएका हुन् ।
बाढीपहिरो र नदी कटानले बेनी–जोमसोम–कोरला सडक क्षतिग्रस्त भएपछि सवारीसाधन गन्तव्यसम्म पुर्याउन नसकिएको हो । सडक हिलाम्मे र जोखिमपूर्ण बनेपछि भन्सार जाँचपास भइसकेका ईभीसमेत करिब दुई सातादेखि विभिन्न स्थानमा रोकिएका छन् ।
लोमान्थाङ–४ स्थित मुस्ताङ भन्सार कार्यालय तथा कोरला नाका आसपासका क्षेत्रमा मात्रै ठूलो सङ्ख्यामा ईभी रोकिएका छन् । त्यस्तै, चराङमा ४०, जोमसोमस्थित ट्राफिक कार्यालयमा ३५, जोमसोम बसपार्कमा १२५ र घाँसामा २५ वटा सवारीसाधन रोकिएका छन् ।
बेनी–जोमसोम सडकको करिब २२ किलोमिटर खण्डमा सवारीसाधन हिलोमा फस्ने जोखिम छ । सडक मर्मत गरेर एकतर्फी सञ्चालनमा ल्याइए पनि साना सवारीसाधनका लागि आवागमन सहज हुन सकेको छैन । नयाँ गाडीमा क्षति पुग्न सक्ने भएकाले खरिदकर्ताले सडक सुधार नहुँदासम्म सवारीसाधन लैजान रोकेका हुन् ।
कालीगण्डकी सडक आयोजनाले क्षतिग्रस्त सडक मर्मत गरिरहेको जनाएको छ । तर, दसैँका लागि ल्याइएका ईभी गन्तव्यमा पुर्याउन अब चाडपर्वपछि मात्रै सम्भव हुने देखिएको छ ।





