काठमाडौँ । नेपाल टेलिकमले ग्राहकलाई लक्षित गर्दै ‘अटम अफर २०८३’ सार्वजनिक गरेको छ। कम्पनीले असोज २६ गतेदेखि लागू हुने गरी विभिन्न दरका भ्वाइस, डाटा तथा कम्बो प्याकेज सञ्चालनमा ल्याएको हो।
नयाँ अफरअन्तर्गत टेलिकमले अल नेट भ्वाइस प्याकमा ३५ रुपैयाँदेखि २९९ रुपैयाँसम्मका विकल्प उपलब्ध गराएको छ। ३५ रुपैयाँमा १०१ मिनेट, ४९ रुपैयाँमा १११ मिनेट, ९८ रुपैयाँमा २२२ मिनेट, १८९ रुपैयाँमा ३३३ मिनेट र २९९ रुपैयाँमा ६६६ मिनेट भ्वाइस सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। यी प्याकेजको समयावधि प्याकअनुसार एक दिनदेखि ३० दिनसम्म रहनेछ।
त्यस्तै, ‘सजिलो अनलिमिटेड’ योजनाअन्तर्गत ६९९ रुपैयाँको ३० दिने प्याकेजमा अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डाटा र २०० वटा अल नेट एसएमएस उपलब्ध हुनेछन्। एक हजार ४९९ रुपैयाँको प्याकेजमा भने ३० दिनसम्म अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डाटा र ३५० वटा अल नेट एसएमएस प्रयोग गर्न सकिनेछ।
कम्पनीले पोस्टपेड ग्राहकका लागि ३७३ रुपैयाँको मासिक रेन्टल शुल्कमै विभिन्न भ्वाइस तथा डाटा प्याकेजसहितका कम्बो सेवा उपलब्ध गराएको छ। यसबाहेक बन्डल्ड, एडअन, सीयूजी, एसएमएस तथा एफटीटीएच प्याकेज पनि अफरमा समेटिएका छन्। फरक क्षमता भएका व्यक्तिलाई लक्षित छुट्टै प्याकेजसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।
ग्राहकले मोबाइलबाट *१४१५# डायल गरेर, नेपाल टेलिकमको मोबाइल एप वा कम्पनीको आधिकारिक वेबसाइटमार्फत प्याकेजसम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन्। कम्पनीका प्रवक्ता डा. कमल लामिछानेले नयाँ अफरबाट ग्राहकले आफ्नो आवश्यकताअनुसार विभिन्न सेवा छनोट गर्न सक्ने जानकारी दिएका छन्।





