काठमाडौँ। ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा भएका छन्। मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकको निर्णयानुसार रेग्मीलाई डीसीईओमा बढुवा गरिएको हो।
नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका रेग्मी सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध छन्।
उनले बैंकको प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा ट्रेड फाइनान्स प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। उनी बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्ष समेत रहेका छन्।
रेग्मीले थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) तथा डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गरेका छन्।




