काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया अघि बढेको छ। सीईओ छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाबाट आवेदन दिएका आठ उम्मेदवारमध्ये चार जनालाई सर्टलिस्ट गरेको हो।
समितिले सोमबार सूचना जारी गर्दै सर्टलिस्टमा परेका उम्मेदवारको अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणको मिति र समय सार्वजनिक गरेको छ।
सर्टलिस्टमा अनिल राज पौडेल, नवराज सापकोटा, नारायणप्रसाद सापकोटा र प्रताप सुवेदी छन्।
समितिका अनुसार चारै उम्मेदवारको अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण असोज २३ गते अर्थ मन्त्रालय, सिंहदरबारमा हुनेछ।
अनिल राज पौडेलको अन्तर्वार्ता बिहान ७ बजे, नवराज सापकोटाको बिहान ८ बजे, नारायणप्रसाद सापकोटाको साँझ ५ः३० बजे र प्रताप सुवेदीको साँझ ६ः३० बजे तोकिएको छ।
समितिले सर्टलिस्टमा परेका उम्मेदवारलाई तोकिएको समयभन्दा कम्तीमा ३० मिनेटअघि अन्तर्वार्ता स्थलमा उपस्थित हुन निर्देशन दिएको छ।
नेप्सेको सीईओ पद रिक्त भएपछि समितिले खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनमध्ये योग्य उम्मेदवारलाई छनोट गरी समितिले चार जनालाई अन्तिम प्रक्रियाका लागि सर्टलिस्ट गरेको हो।




