काठमाडौं । भोटेकोशी क्षेत्रमा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि थप बाह्य सहायता जुटाउने र नेपालका सडक तथा विद्युत् प्रसारण पूर्वाधारमा अमेरिकी निजी लगानी भित्र्याउने एजेन्डासहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका पुगेका छन् ।
दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै वाग्ले गएराति अमेरिका पुगेका हुन् । वासिङ्टन डीसीमा उनलाई कार्यवाहक राजदूत शरदराज आरन तथा नेपाली दूतावासका पदाधिकारीले स्वागत गरेका छन् ।
अमेरिका भ्रमणका क्रममा वाग्लेले सोमबार अमेरिकी अर्थमन्त्री तथा सेक्रेटरी अफ द ट्रेजरी स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्नेछन् । ती भेटमा नेपालका लागि आर्थिक सहयोग विस्तार, पुनर्निर्माणका लागि स्रोत परिचालन, एफएटिएफ को ‘ग्रे लिस्ट’बाट बहिर्गमन तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुने भएको छ ।
भ्रमणमा हालै भोटेकोशी क्षेत्रमा आएको महाप्रलयबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणका लागि थप सहायता परिचालन गर्ने विषयलाई प्राथमिकता दिइनेछ ।
विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग पुनर्निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटाउने र भविष्यमा विपद्का कारण हुने क्षति घटाउने गरी उत्थानशील पूर्वाधार विकास गर्ने विषयमा छलफल हुनेछ ।
यसअघि नै क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा ठूलो स्रोत आवश्यक पर्ने देखिएको अवस्थामा सरकारले विकास साझेदारबाट थप वित्तीय सहायता परिचालन गर्न खोजेको हो ।
पूर्वाधारमा अमेरिकी निजी पूँजी खोजिँदै
वाग्लेको भ्रमणको अर्को महत्वपूर्ण आर्थिक एजेन्डा नेपालका पूर्वाधार आयोजनामा निजी लगानी आकर्षित गर्नु हो । सरकारले सडक, विद्युत् प्रसारण लाइनलगायत पूर्वाधारमा लगानी बढाएर रोजगारी र आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य लिएको छ । त्यसका लागि विकास साझेदारसँगको सहयोगसँगै अमेरिकी निजी क्षेत्रको पूँजी परिचालन गर्ने पहल गरिने भएको छ ।
यस क्रममा वाग्लेले अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डिएफसी) का उच्चपदस्थ अधिकारी तथा निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम छ । नेपालका पूर्वाधार तथा उत्पादनशील क्षेत्रमा लगानीको सम्भावना र लगानी सहजीकरणका विषयमा उनीहरूसँग छलफल हुने बताइएको छ ।
एफएटिएफ र आर्थिक सुधार पनि छलफलमा
नेपाललाई एफएटिएपको ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने प्रक्रिया पनि अमेरिकी अर्थमन्त्री र विश्व बैंक समूहका अध्यक्षसँगको भेटमा उठाइनेछ । वित्तीय प्रणाली सुधारसँग सम्बन्धित विषयले नेपालमा वैदेशिक लगानीको वातावरणसँग समेत सम्बन्ध राख्ने भएकाले यसलाई आर्थिक साझेदारीसँग जोडेर अघि बढाइने भएको छ । त्यसैगरी बृहत् आर्थिक सुधार तथा नेपाल–अमेरिका आर्थिक सहयोग विस्तारका विषयमा पनि छलफल हुनेछ ।
अर्थमन्त्रीको अमेरिका भ्रमणमा तत्कालीन रूपमा भोटेकोशी पुनर्निर्माणका लागि सहायता खोज्ने र दीर्घकालीन रूपमा सडक तथा विद्युत् प्रसारणजस्ता पूर्वाधारमा निजी पूँजी आकर्षित गर्ने दुईवटा आर्थिक एजेन्डालाई केन्द्रमा राखिएको छ ।




