दुबईबाट तेल अभिभ जाँदै गरेको विमानमा ‘हाइज्याक’को आशङ्का, सङ्कटकालीन सङ्केतपछि साउदीमा अवतरण गरिँदै

दुबई । दुबईबाट तेल अभिभतर्फ उडिरहेको फ्लाइदुबईको एक यात्रुवाही विमानमा बुधबार बिहान संदिग्ध सुरक्षा घटना घटेको खबर प्राप्त भएको छ।

नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीका अनुसार विमान अहिले साउदी अरबमा अवतरण गर्ने तयारीमा छ। विमान अवतरण नगरेसम्म उडानका क्रममा वास्तवमा के भएको थियो भन्नेबारे यकिन गर्न नसकिने उनले बताएका छन्।

इजरायली आर्मी रेडियोका अनुसार विमानले सम्भावित अपहरण प्रयाससँग सम्बन्धित आपत्कालीन कोड सक्रिय गर्दै ‘डिस्ट्रेस सिग्नल’ पठाएको थियो।

सुरक्षा अधिकारीहरूका अनुसार विमानभित्र के भइरहेको छ भन्नेबारे जानकारी जुटाउने प्रयास भइरहेको छ। विमान अवतरण गरेपछि कार्गो होल्ड जाँच गर्नुका साथै चालक दलका सदस्यसँग सोधपुछ गरिनेछ। त्यसपछि मात्रै घटनाको वास्तविक अवस्था स्पष्ट हुने अधिकारीहरूको भनाइ छ।

उडानका क्रममा विमानका पाइलट र अन्य चालक दलका सदस्यबीच भएको सञ्चारबारे भने फरक–फरक विवरण सार्वजनिक भएका छन्।

सम्भावित आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै इजरायली वायुसेनाले आफ्नो सतर्कता बढाएको र लडाकु विमानहरू तयारी अवस्थामा राखेको बताइएको छ।

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षा अधिकारीहरूसँग उच्चस्तरीय सुरक्षा बैठक बोलाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *