काठमाडौं । एनआईसी एशिया क्यापिटलले निष्कासन गरेको ‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड’को इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन हो। क्यापिटलका अनुसार आज बैंकिङ समय सकिएसँगै आवेदन बन्द हुनेछ र समय थपिने छैन।
सोमबार साँझ ५ बजेसम्म फन्डको ८० करोड रुपैयाँभन्दा बढीको इकाइ खरिदका लागि आवेदन परिसकेको क्यापिटलले जनाएको छ। प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाइ निष्कासन गरिएको यो फन्डको प्रारम्भिक आकार ८० करोड रुपैयाँ रहेको छ।
कुल इकाइमध्ये १ करोड २० लाख अर्थात् १५ प्रतिशत एनआईसी एशिया बैंकका लागि सुरक्षित गरिएको छ भने बाँकी ६ करोड ८० लाख इकाइमा सर्वसाधारण तथा संस्थाले आवेदन दिन सक्नेछन्। माग प्रारम्भिक आकारभन्दा बढी भए पनि स्वीकृत विवरणपत्रअनुसार फन्डको आकार अधिकतम १ अर्ब रुपैयाँसम्म पुर्याउन सकिने व्यवस्था छ।
१० वर्ष अवधिको बन्दमुखी म्युचुअल फन्डमा न्यूनतम १०० देखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सकिनेछ। सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा वा ‘मेरो सेयर’मार्फत आवेदन दिन सकिने क्यापिटलले जनाएको छ।
क्यापिटलका अनुसार संकलित रकमको अधिकांश हिस्सा दोस्रो बजारमा सूचीकृत कम्पनीका धितोपत्रमा लगानी गरिने कम्पनीले जनाएको छ।




