काठमाडौं । सरकारले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको दाबी गरेको छ । उनलाई पक्राउ नगरी सुरक्षा थ्रेट बढेपछि रेस्क्यू गरिएको सरकारको भनाइ छ ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै यस्तो बताएका हुन् ।
‘स्पष्ट भइसकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन । नियन्त्रणमा लिएको पनि होइन,’ पोखरेलले भने, ‘उहाँको आफ्नै परिवारबाट थप सुरक्षा माग गरिएर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनुभएको छ । उहाँको सुरक्षामा प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नका लागि त्यहाँबाट रेस्क्यू गरेर लगिएको हो ।’
नियन्त्रण वा गिरफ्तारी भने नभएको उनको भनाइ छ ।




