निभिक्स फर्मास्यूटिकल्सले ४० प्रतिशत हकप्रद शेयर ल्याउँदै, पुँजी ७२ करोड पुर्‍याउने प्रस्ताव

काठमाडौं।  निभिक्स फर्मास्यूटिकल्स लिमिटेडले चुक्ता पुँजी बढाउन ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ। कम्पनीले हकप्रद शेयर जारी गर्नुका साथै अधिकृत तथा जारी पुँजी वृद्धि र संस्थापक तथा सर्वसाधारण शेयरको संरचना परिवर्तन गर्ने प्रस्ताव विशेष साधारणसभामा लैजाने भएको हो।

कम्पनीले असोज २६ गते पोखराको बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा विशेष साधारणसभा बोलाएको छ। बिहान ११ बजे सुरु हुने सभामा कम्पनीको पुँजी संरचना परिवर्तनसम्बन्धी विभिन्न प्रस्तावमाथि छलफल तथा निर्णय हुनेछ।

सभामा कम्पनीको हाल कायम ५५ करोड रुपैयाँको अधिकृत तथा जारी पुँजी बढाएर ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ पुर्‍याउने प्रस्ताव पेस गरिनेछ। पुँजी वृद्धि गर्न कम्पनीको प्रबन्धपत्रका सम्बन्धित दफा संशोधन गर्ने प्रस्तावसमेत सभाको कार्यसूचीमा राखिएको छ।

त्यसैगरी कम्पनीले विद्यमान शेयरधनीलाई ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ। हकप्रद निष्कासनसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुनेछ। हकप्रद निष्कासनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने विषयमा आवश्यक निर्णय गर्ने अधिकारसमेत सभालाई दिइएको छ।

कम्पनीले हकप्रदमार्फत पुँजी बढाउनुका साथै आफ्नो शेयर स्वामित्व संरचनामा समेत परिवर्तन गर्ने तयारी गरेको छ। प्रस्तावअनुसार संस्थापक शेयरधनीको हिस्सा हालको ७५ प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्‍याइनेछ। सर्वसाधारणका लागि छुट्याइएको २५ प्रतिशत हिस्सालाई घटाएर २० प्रतिशत कायम गर्ने प्रस्ताव छ।

परिवर्तित पुँजी संरचनाअनुसार कायम हुने जारी पुँजीको २० प्रतिशत शेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सर्वसाधारणलाई बिक्री गर्ने प्रस्ताव पनि विशेष साधारणसभामा पेस गरिनेछ।

कम्पनीले यी प्रस्ताव कार्यान्वयनका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र त्यसका लागि सञ्चालक समितिलाई आवश्यक प्रक्रिया अघि बढाउने अख्तियारी दिने प्रस्तावसमेत अघि सारेको छ।

विशेष साधारणसभाबाट प्रस्तावहरू पारित भएमा निभिक्स फर्मास्यूटिकल्सको पुँजी संरचना तथा शेयर स्वामित्वमा परिवर्तन हुनेछ। त्यसपछि हकप्रद निष्कासन र सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाउने कम्पनीको तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *