दुई महिनामै १ लाख ३० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा १ लाख ३० हजार ४८३ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार साउनमा ७० हजार ४४१ र भदौमा ६० हजार ४२ जनाले अन्तिम श्रम स्वीकृति लिएका हुन्। साउनको तुलनामा भदौमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या १० हजार ३९९ ले घटेको छ।

भदौमा श्रम स्वीकृति लिनेमा ५१ हजार ८४३ पुरुष र ८ हजार १९९ महिला छन्। तीमध्ये ३५ हजार ६२७ जनाले पहिलोपटक नयाँ श्रम स्वीकृति लिएका छन् भने २४ हजार ४१५ जनाले बिदामा नेपाल फर्किएपछि पुनः श्रम स्वीकृति लिएका छन्।

नेपाली श्रमिकको प्रमुख गन्तव्यका रूपमा संयुक्त अरब इमिरेट्स (यूएई) पहिलो स्थानमा रहेको छ । भदौमा यूएईका लागि १५ हजार ५४२ पुरुष र २ हजार ९३५ महिला गरी १८ हजार ४७७ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै, कतारका लागि १० हजार ४७१, मलेसियाका लागि ८ हजार ९१, साउदी अरेबियाका लागि ६ हजार ७८७ र कुवेतका लागि ३ हजार ८९८ जनाले श्रम स्वीकृति लिएका छन् ।

युरोपेली मुलुक रोमानियाका लागि १ हजार ७९३ तथा जापानका लागि १ हजार १३० र ओमानका लागि १ हजार ९५ जनाले श्रम स्वीकृति लिएका छन् । दक्षिण कोरियाका लागि सरकारी प्रक्रियामार्फत जाने ७८९ जनासहित कुल ९०३ जनाले श्रम स्वीकृति पाएका छन् ।

जिल्लागत विवरणअनुसार मधेस र कोशी प्रदेशका जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढी देखिएको छ ।

देशभरमा सबैभन्दा धेरै धनुषाबाट ३ हजार १६ जना विदेशिएका छन् । यस्तै, झापाबाट २ हजार ७१६, मोरङबाट २ हजार ६९०, सिरहाबाट २ हजार ३४९, महोत्तरीबाट २ हजार २८१, सुनसरीबाट २ हजार २२६ र रुपन्देहीबाट २ हजार १० जनाले श्रम स्वीकृति लिएका छन् ।

हिमाली जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या भने न्यून छ । समीक्षा अवधिमा मनाङबाट १३, मुस्ताङबाट २३ र हुम्लाबाट ३७ जनाले मात्र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगारीमा जानेमध्ये दक्ष जनशक्तिको हिस्सा आधाभन्दा बढी रहेको छ । विभागका अनुसार भदौमा श्रम स्वीकृति लिनेमध्ये ५६.९ प्रतिशत अर्थात् ३४ हजार १६७ जना दक्ष श्रमिक छन् ।

यस्तै, १६ हजार ५८ जना अदक्ष, ९ हजार ४६६ जना अर्धदक्ष, २७१ जना व्यावसायिक र ८० जना उच्च दक्ष जनशक्ति रहेका छन् ।

नयाँ श्रम स्वीकृति लिनेहरूमध्ये २५ हजार ४१५ जनाले म्यानपावर कम्पनीमार्फत र ९ हजार २२४ जनाले व्यक्तिगत तवरबाट श्रम स्वीकृति लिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *