काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक (दशौं तह) डा. अर्जुन प्रसाद सापकोटाविरुद्ध २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा दायर गरेको आरोपपत्रमा डा. सापकोटाले सरकारी सेवामा रहँदा आफ्नो वैधानिक आम्दानीभन्दा धेरै सम्पत्ति आर्जन गरेको र त्यसको स्रोत पुष्टि गर्न नसकेको उल्लेख गरेको छ।
अख्तियारले डा. सापकोटाको २०५२ माघ २८ देखि २०८० जेठ ३० गतेसम्मको आय–व्यय तथा सम्पत्ति विवरणमाथि अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा उक्त अवधिमा उनको वैधानिक आय ३ करोड ३५ लाख ७७ हजार २६० रुपैयाँ रहेको देखिएको आयोगको दाबी छ।
तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारीसाधन खरिद, सेयर तथा बीमा, विदेश भ्रमण, अध्ययन, सुन खरिद र बैंक मौज्दातलगायतमा ५ करोड ३९ लाख ७१ हजार ८७५ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको अख्तियारले जनाएको छ।
आयोगका अनुसार वैधानिक आयको तुलनामा २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ बढी खर्च तथा लगानी भएको देखिएको छ। सो रकमको वैधानिक स्रोत पुष्टि गर्न नसकेको भन्दै अख्तियारले त्यसलाई गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति मानेर मुद्दा दायर गरेको हो।
अख्तियारले डा. सापकोटाविरुद्ध बिगो बराबर जरिवाना, कैद तथा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न माग गरेको छ। यस्तै, सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति लुकाई झुट्टा विवरण पेस गरेको आरोपमा थप सजायको माग गरिएको छ।
आयोगले डा. सापकोटाकी श्रीमती निरजा पण्डितलाई समेत प्रतिवादी बनाएको छ। उनका नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ।




