काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीका १३५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।
समितिका अनुसार शिवशिखर सहकारीका ५७, कान्तिपुरका ५२, ओरियन्टल को–अपरेटिभका ८, तुलसी बहुमुखीका ९ र आइडियल यमुना सहकारीका ९ जना बचतकर्ताको रकम फिर्ता गरिएको हो।
सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकम पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई बचतरकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाबमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ ।




