सेयर कारोबारमा पूँजीगत लाभकर घट्यो

काठमाडौं । सरकारले सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर घटाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले अल्पकालीन र दीर्घकालीन धितोपत्र कारोबारमा लाग्ने करको दर घटाउने निर्णय गरेको हो।

निर्णयअनुसार ३६५ दिन वा सोभन्दा कम अवधि धितोपत्र स्वामित्वमा राखेर बिक्री गर्दा प्राप्त लाभमा ५ प्रतिशत र ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा राखेर बिक्री गर्दा प्राप्त लाभमा ३.५ प्रतिशत पूँजीगत लाभकर लाग्नेछ।

मन्त्रिपरिषद्को निर्णयमा नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र तथा विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा उक्त दरअनुसार अग्रिम कर कायम गर्ने उल्लेख छ।

सरकारको यो निर्णय राजपत्रमा प्रकाशन भएको दिनदेखि कार्यान्वयनमा आउनेछ।

यसअघि ३६५ दिनभन्दा बढी अवधि धितोपत्र होल्ड गर्ने लगानीकर्ताले नाफामा ७.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि होल्ड गर्नेले १० प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए।

गत बजेटमार्फत मात्रै पूँजीगत लाभकरको दर ५ प्रतिशतबाट ७.५ प्रतिशत र ७.५ प्रतिशतबाट १० प्रतिशत पुर्‍याइएको थियो।

यसअघि अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको पूँजी बजार सुधार कार्ययोजनामा पूँजीगत लाभकर घटाएर दीर्घकालीन कारोबारमा ३.५ प्रतिशत र अल्पकालीन कारोबारमा ५ प्रतिशत कायम गर्ने प्रस्ताव गरिएको थियो। मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयको उक्त प्रस्ताव स्वीकृत गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *