अडानीलाई उछिन्दै टिकटकका मालिक बने एसियाकै धनी व्यक्ति

काठमाडौँ । टिकटकको मूल कम्पनी बाइटडान्सका संस्थापक झाङ यिमिङ एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। ब्लुमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार ४३ वर्षीय झाङले भारतीय उद्योगपति गौतम अडानीलाई पछि पार्दै एसियाको धनाढ्य सूचीमा पहिलो स्थान हासिल गरेका हुन्।

झाङको कुल सम्पत्ति १०५ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ। बाइटडान्सको मूल्याङ्कनमा भएको वृद्धि र कम्पनीले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा तीव्र विस्तार गरेसँगै झाङको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको हो।

ब्लुमबर्गका अनुसार ब्ल्याकरक, फिडेलिटी इन्भेस्टमेन्ट्स र टी रो प्राइसजस्ता ठूला लगानी संस्थाले बाइटडान्सको मूल्याङ्कन परिमार्जन गरेपछि झाङको सम्पत्ति यो महिनामात्रै १२ अर्ब डलरभन्दा बढी बढेको हो। सन् २०१९ को मार्चमा करिब १३ अर्ब डलर रहेको उनको सम्पत्ति अहिले आठ गुणाभन्दा बढी पुगेको छ।

अडानीको सम्पत्तिमा गिरावट

झाङको सम्पत्ति बढिरहँदा भारतीय उद्योगपति गौतम अडानीको सम्पत्तिमा भने पछिल्ला महिनामा बजारको उतारचढावको असर परेको छ। जुन महिनामा अडानीको कुल सम्पत्ति करिब १२० अर्ब डलर पुगेको थियो।

तर एमएससीआई इन्डेक्सको पुनर्सन्तुलन, कच्चा तेलको मूल्य वृद्धि र बन्डको प्रतिफल बढेसँगै बजारमा बिक्रीको दबाब बढेको थियो। त्यसको असर अडानी समूहअन्तर्गतका कम्पनीको सेयर मूल्यमा परेको र त्यससँगै अडानीको कुल सम्पत्ति घटेको समाचारमा उल्लेख छ।

अडानीको व्यावसायिक साम्राज्य ऊर्जा, पूर्वाधार, बन्दरगाहदेखि खुद्रा व्यापारसम्म फैलिएको छ। यसको विपरीत झाङको सम्पत्तिको मुख्य आधार प्रविधि, डिजिटल प्लेटफर्म र एआई व्यवसाय हो।

टिकटकभन्दा अगाडि बढ्दै एआई

झाङले बाइटडान्समार्फत विश्वव्यापी सफलता हासिल गरेका हुन्। बाइटडान्सकै उत्पादन टिकटक अहिले विश्वका लोकप्रिय सामाजिक सञ्जालमध्ये एक हो।

तर पछिल्लो समय झाङको सम्पत्ति बढ्नुमा टिकटकभन्दा बाइटडान्सको एआई व्यवसायको विस्तारलाई महत्वपूर्ण मानिएको छ। कम्पनीले चीनमा ‘डौबाओ’ नामको एआई च्याटबटदेखि भिडियो निर्माणका लागि ‘सीडान्स’ जस्ता एआई उपकरण विकास गरिरहेको छ।

अनुसन्धान संस्था ओमडियाका मुख्य विश्लेषक लियान जे सूका अनुसार बाइटडान्ससँग रहेको ठूलो सामाजिक सञ्जाल डेटा एआई मोडल विकासका लागि महत्वपूर्ण स्रोत बनेको छ। कम्पनीले भिडियो प्लेटफर्ममा आधारित व्यवसायभन्दा बाहिर एआईलाई नयाँ वृद्धिको प्रमुख क्षेत्रका रूपमा अघि बढाइरहेको उनको भनाइ छ।

प्रविधिले बदल्दैछ अर्बपतिको सूची

झाङको सम्पत्तिमा भएको तीव्र वृद्धिले एसियाका अर्बपतिको सूचीमा प्रविधि क्षेत्रको बढ्दो प्रभावसमेत देखाएको छ। यसअघि ऊर्जा, पूर्वाधार र खुद्रा व्यापारजस्ता परम्परागत क्षेत्रमा आधारित व्यवसायले एसियाली धनाढ्यहरूको सम्पत्तिमा ठूलो हिस्सा ओगट्दै आएका थिए।

पछिल्लो समय एआई, डिजिटल प्लेटफर्म, डेटा र प्रविधिमा आधारित कम्पनीको मूल्याङ्कन तीव्र रूपमा बढ्दा यस क्षेत्रका संस्थापकको सम्पत्तिमा पनि उल्लेख्य वृद्धि देखिन थालेको छ।

तर बाइटडान्स र झाङका लागि चुनौतीसमेत उत्तिकै छन्। विशेषगरी अमेरिकामा टिकटकलाई लिएर लामो समयदेखि नियामकीय र भूराजनीतिक विवाद रहँदै आएको छ। यहीबीच बाइटडान्सले अमेरिकी व्यवसायको केही हिस्सा अमेरिकी लगानीकर्तातर्फ स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ।

त्यसैगरी चीनको घरेलु एआई बजारमा बढ्दो प्रतिस्पर्धा पनि बाइटडान्सका लागि चुनौती बनेको छ। यद्यपि चीनले एआई प्रविधिमा ठूलो लगानी जारी राखेकाले आगामी दिनमा बाइटडान्सको एआई व्यवसाय विस्तारका लागि थप अवसर सिर्जना हुन सक्ने विश्लेषण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *