मोरङ उद्योग व्यापार संघको अध्यक्षमा साह निर्विरोध

मोरङ।  मोरङ उद्योग ब्यापार संघको अध्यक्षमा अनिलकुमार साह निर्विरोध चयन भएका छन्। संघको विराटनगरस्थित कार्यालय आइतबार भएको सहमतिअनुसार ३५ औ कार्यसमितिको अध्यक्षमा साहसहित वरिष्ठ उपाध्यक्षमा अनिल सारडा, वाणिज्यतर्फबाट उपाध्यक्ष विकासकुमार बेगवानी, उद्योगतर्फबाट उपाध्यक्षमा सञ्जयकुमार श्रेष्ठ चयन भएका हुन्।

संघको कार्यसमितिमा लामो समयदेखि सक्रिय रहँदै आएका साहले उद्योगी व्यवसायीको समस्या र चुनौतीको समाधानतर्फ आफू लाग्ने बताएका छन्। मुलुककै जेठो संस्थाका रुपमा रहेका संघलाई राष्ट्रियस्तरबाट सम्बोधन गराउन विशेष पहल गर्ने बताएका अध्यक्ष साहले बजारलाई चलायमान बनाउनदेखि नवप्रवर्तन, रोजगारी, युवालाई औद्योगिक क्षेत्रमा आकर्षण गराउने लगायतमा काम गर्ने बताए।

नवनिर्वाचित अध्यक्ष साहले विराटनगरसम्म आइपुगेको रेल्वे सेवाको उपयोग र निरन्तरताका लागि संघका तर्फबाट विशेष पहल गर्ने बताए। त्यसैगरि, संघको महासचिवमा अमितकुमार सारडा, सचिवद्धयमा अमित राठी र दिपेश सुवेदी निर्विरोध चयन भए।

सचिव सुवेदीले युवाहरुलाई उद्योग व्यवसायतर्फ भित्राउन संघले आफ्नो काम गर्ने बताए। एआइ र आइटीको समयमा युवाहरुको सीप क्षमता र कौशललाई समेटेर कसरी रोजगारीमा लगाउन र अवसर दिलाउन सकिने भन्ने विषयमा आफूहरु कटिबद्ध भएर लाग्ने सचिव सुवेदीले बताए।

२२ सदस्यीय कार्यसमितिमा कोषाध्यक्षको जिम्मेवारी विनित सिंघानियाले र सह कोषाध्यक्षको जिम्मेवारीमा मनिषकुमार मारु रहेका छन्। त्यसैगरि, संघका प्रवक्तामा सुशिल सुरानाले जिम्मेवारी पाएको संघले जनाएको छ। संघको महिला संयोजकमा साधना झा र सह संयोजकमा जीना श्रेष्ठ रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *