भदौको करदाता प्रोत्साहन पुरस्कार १ असोजमा खुल्ने, ३१ जनाले १ लाख ३३ हजार ३३४ रुपैयाँ पाउने

काठमाडौं । भोटेकोसी बाढीका कारण रोकिएको भदौ महिनाको करदाता प्रोत्साहन पुरस्कार असोज १ गते घोषणा हुने भएको छ ।

करदातालाई बिल लिन तथा कर तिर्ने प्रणालीमा अभ्यस्त गराउने उद्देश्यले चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको हो । साउन १ गतेदेखि सुरु भएको कार्यक्रममा भदौ १६ गते भदौ महिनाको पहिलो चरणको पुरस्कार घोषणा गर्ने तयारी भए पनि भोटेकोसी बाढीका कारण कार्यक्रम स्थगित भएको थियो ।

अब भदौ महिनाभरका कारोबारलाई समेटेर असोज १ गते पुरस्कार घोषणा गर्ने तयारी गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ । विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्येबाट विजेता छनोट गरिनेछ ।

यस चरणमा १५ दिनका लागि दैनिक एक जनाका दरले १५ जना विजेता छनोट हुनेछन् । प्रत्येक विजेताले एक लाख ३३ हजार ३३४ रुपैयाँको पुरस्कार पाउनेछन् । यस्तै, सो अवधिमा कारोबार गरेका उपभोक्तामध्येबाट एक जनालाई १० लाख रुपैयाँ राशिको बम्पर पुरस्कार प्रदान गरिनेछ ।

दोस्रो चरणमा भदौ १६ देखि ३१ गतेसम्मका १६ दिनलाई समेटेर १६ जना विजेता छनोट गरिनेछ । उनीहरूले पनि जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ पाउनेछन् । यही अवधिका उपभोक्तामध्येबाट एक जनालाई १० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गरिने विभागले जनाएको छ ।

यसरी असोज १ गते भदौ महिनाका लागि एक लाख ३३ हजार ३३४ रुपैयाँका ३१ जना तथा १०–१० लाख रुपैयाँका दुई जना बम्पर विजेता गरी कुल ३३ जनालाई पुरस्कार प्रदान गरिनेछ ।

पुरस्कार रकममा २५ प्रतिशत कर लाग्नेछ । त्यसपछि एक लाख ३३ हजार ३३४ रुपैयाँको पुरस्कार जित्नेले एक लाख रुपैयाँ तथा १० लाख रुपैयाँको बम्पर पुरस्कार जित्नेले कर कटाएर सात लाख ५० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

पुरस्कारका लागि योग्य हुन उपभोक्ताले एक सय रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्नेछ । कारोबार गर्दा सकेसम्म अनलाइन भुक्तानी गर्न विभागले आग्रह गरेको छ ।

विभागका अनुसार अनलाइनमार्फत गरिएको कारोबार स्वतः करदाता प्रोत्साहन प्रणालीमा समावेश हुन्छ । नगदमा कारोबार गरी सक्कली बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा गएर बिल अपलोड गरी पुरस्कारका लागि आवश्यक कुपन लिनुपर्नेछ ।

यसअघि साउन महिनाको पुरस्कारमा पनि ३३ जना उपभोक्ता विजेता बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *