काठमाडौँ। एसीसी मेन्स प्रिमियर कप-२०२६ को फाइनलमा नेपालले युएइसमक्ष ३ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १३ रन बनायो।
नेपालको उच्च स्कोरमा आसिफ शेखले १ सय ६ बलमा ८ चौका र ४ छक्काको सहयोगमा १ सय २ रनको शतकीय इनिङ खेले। त्यस्तै गुल्सन झाले ५२ रनको अर्धशतकीय इनिङ खेले। झाले ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए। त्यस्तै रोहित पौडेलले ४० रन बनाए। उनले ४४ बलमा २ चौका प्रहार गरेका थिए।
नेपालका लागि ओपनर अर्जुन कुमाल र आसिफ शेखले पहिलो विकेटका लागि ९७ रनको उत्कृष्ट साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। कुमाल ४३ रन बनाउँदा रनआउट भएका थिए। उनले ६३ बलमा ६ चौका प्रहार गरे।
जारी प्रतियोगिताको फाइनल जित्ने टोलीले एसियाकपमा स्थान बनाउने भएकाले पनि यो खेल महत्वपूर्ण रहेको छ।






