प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा ४० लाख ८० हजार रुपैयाँ सहयोग

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ।

बैंकका सञ्चालक तथा कर्मचारीबाट संकलित सहयोग रकमको चेक प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माले अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।

विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम संकलन गरिएको बैंकले जनाएको छ।

यसअघि पनि प्रभु बैंकले बाढी प्रभावित परिवारका लागि १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत उपलब्ध गराइ सकेको छ।

त्यसैगरी, बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकमको चेकसमेत हस्तान्तरण गरिसकेको जनाएको छ।

प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति बैंकले श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्बाट प्रभावित सम्पूर्ण समुदायप्रति बैंकले गहिरो समवेदना व्यक्त गरेको छ।

प्रभु बैंकले विपद्को यस कठिन घडीमा प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका प्रयासमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *