पैसा अभावमा सुत्केरी महिला अस्पतालबाहिरै, स्वास्थ्य प्रणालीमाथि सांसद कर्णको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले सप्तरीमा सातसय रुपैयाँ अपुग हुँदा अस्पतालले प्रसूति महिलाको उपचार गर्न आनाकानी गरेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कर्णले राजविराज–१४ स्थित प्रसाईँ टोलका हरेराम पासवानकी श्रीमती बबिता पासवान प्रसव पीडा बोकेर अस्पताल पुगेको र आर्थिक अभावका कारण अस्पताल परिसरबाहिरै शिशु जन्माउन बाध्य भएको बताए ।

उनले भने, ‘राजविराज–१४ स्थित प्रसाईँ टोलका हरेराम पासवानकी श्रीमती बबिता पासवान प्रसव पीडा बोकेर अस्पताल जान्छिन् । अस्पतालले ३२ सयको बिल काट्न भन्छ तर उनीसँग २५ सय मात्र भएको जानकारी गराउँछन् । सात सय अपुग भएपछि उपचार गर्न आनाकानी गरेको थियो।’

सांसद कर्णले गजेन्द्रनारायण सिंह अस्पताल सप्तरी गरिब, विपन्न, असहाय तथा निम्न आय भएका नागरिकका लागि स्वास्थ्य उपचारको भरोसाको केन्द्र भए पनि त्यही अस्पतालमा आर्थिक अभावका कारण महिलाले सडकमा शिशु जन्माउनुपर्ने अवस्था आउनु गम्भीर विषय भएको बताए ।

उनले स्वास्थ्य क्षेत्रमा सरकारले ठूला–ठूला कुरा गरिरहे पनि आर्थिक अभावका कारण महिलाले अस्पतालबाहिरै बच्चा जन्माउनुपर्ने अवस्था आउनु विडम्बना भएको बताए ।

उनले भने, ‘एउटा महिला पैसाको अभावका कारण अस्पताल बाहिर आफ्ना बच्चा जन्माउनु परेको छ, हामी चाहिँ स्वास्थ्यमा ठूला–ठूला कुरा गरेर बसिरहेका छौँ।’

सांसद कर्णले उक्त घटनाले सप्तरीका गरिब, पीडित तथा दलित महिलाको स्वास्थ्य सेवामा पहुँचको अवस्थासमेत उजागर गरेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्रीसँग जवाफ मागे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *